२९ आश्विन २०८३, बिहिबार

रत्नपार्कको यो पुस्तक पसल अनि जाेडिएका यादहरु …

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

करिब १० वर्षअघि २०६८ सालमा काठमाडौँका केही स्थानहरुमा यसरी पुस्तक तथा पत्रपत्रिकाहरुको पसल राखिएका हुन्थे ।

अहिले भन्दा अलिक बढी नै हुन्थे । धेरै मानिसहरु झुम्मिन्थे । त्यसरी बस्नेमा कोही गाडी पर्खने हुन्थे, कोही विशेष काममा हिँड्दै गर्ने पनि केही समय बस्ने गर्थे त कोही केवल त्यहाँ केही समय रहने पत्रपत्रिकाहरु हेर्न, पुस्तकका केही अंशहरु पढ्नकै लागि पनि आउने गर्थे ।

सयौँको संख्यामा पुस्तक बिक्री हुन्थे । त्यसैले पनि होला सुरुसुरुमा पत्रिका वा पुस्तकका कुनै अंश पढेको पैसा लाग्दैनथ्यो । केही समयपछि त केही निश्चित रुपैयाँ तिर्नुपर्ने बनाइएको थियो क्यारे केही केही पसलमा । अक्सर त्यस्ता ठाउँहरु मैले नयाँ बानेश्वर र रत्नपार्ककै वरिपरि अनुभव गरेको थिएँ ।

मैले यी स्थानहरुबाट केही दर्जन पुस्तक किनेको थिए उबेलामै । अँ बरु अहिले यहाँबाट किनेको छैन । गजब कुरा त म सायद २०६९ मा हुँदो हो म समय हुने बित्तिकै रत्नपार्क आसपास आइहाल्थेँ ।

अनि यिनै पुस्तक पसलमा रहेका पुस्तक तथा पत्रपत्रिकाहरुमा आफूलाई घण्टौँ घोत्ल्याउँथेँ । मलाई पत्रिका किनेको चाँहि उति याद छैन । तर मन नभएर भने पक्कै थिएन । मलाई बडो आनन्द लाग्थ्यो । अहिले सम्झिन्छु उबेला पनि मानिसका लागि केही साधन थिए रमाउन, अनि खुशी बटुल्न ।

त्यही ताका हो । सम्भवत अझै अघिदेखि हुनसक्छ । मुकुन्दे (मुकुन्द प्रसाद घिमिरे) रत्नपार्कको एउटा रुखमा चढेर भाषण दिन्थेँ । कुनै कारण बिनै सयौँ मानिसहरु भेला हुन्थेँ । मुकुन्देले हसाउँथे, मानिस हाँस्थे । लाग्छ हाँस्नकै लागि बस्थे कि मान्छे ?

त्यस्तै, कहिले नेताहरु, देशको व्यवस्था, जनताको आनबानी लगायत विषयमा पनि कहिले व्यंग्य गर्थे त कहिले यथार्थ चित्रण गरेजस्तो लाग्थ्यो । कास टिकटक आउँछ अनि यस्ता भिडियो भाइरल हुन्छ भन्ने जानेको भए म भिडियो खिच्थेँ होला । कहिलेकाहीँ म पनि त्यो भीडमा हुने गर्थेँ ।

यी पसलमा अक्सर आत्मविश्वास बढाउने वा भनौँ आत्मविकाससँग सम्बन्धित पुस्तकहरु हुने गर्छन् । यहाँ एकछिन अडिने मान्छेले आफूलाई दह्रो बनाएरै मात्रै जान्छन् जस्तो लाग्छ । हुन त वर्षौँदेखि यो पसलमा दुःख गर्ने उनको मनोबल चाँहि कस्तो छ सोध्न पाएको छैन ।

एक दिन मेरो गाउँकै नरेश बराल दाईसँग पनि मुकुन्देको भाषण सुनिएको थियो करिब एक घण्टा । हामी जिज्ञासु थियौँ कि यी मान्छे को होलान्, शिक्षादीक्षा के होला, कहाँ बस्ने होलान्, के खाने, कसरी खाने होला आदि इत्यादि ।

किनकी उनको भाषण करिब सिलसिलेबार पनि हुन्थ्योँ । कतै साँच्चै नेतै हो कि जस्तै । त्यो बेला मानिसहरुले उनलाई पागलको संज्ञा दिन्थे । म उतिखेरै सोच्ने गर्थेँ कि किन त्यसो भनिएको होला ? किनकी उनका कुराहरुमा सत्यता पनि भेटिन्थ्यो त तथ्य पनि अुनभूत हुन्थ्यो । आज पनि एउटा जमात उनलाई पागलकै उपमा दिन पछि पर्दैनन् । आफू विज्ञ भएर हो वा मेडिकल्ली प्रमाणित हो कि ?

अँ अहिले उनी रुखमा होइन सबै व्यवस्थित घरमै बस्छन् क्यारे । अनि भाषण पहिलेजस्तो रुखमा चढेर जमातमा नभएर युट्युब, फेसबुक, टिकटक लगायतमा दिन्छन् । र आफूले सोचेजस्तै नाकचुच्ची पनि भित्र्याए क्यारे । जे हाेस् उनको जीवन गजब बनोस् ।

त्यस्तै, यही रत्नपार्कले मलाई अश्वीनी कोइरालासँग पनि चिनायो । म यी फुटपाथका पुस्तक पसलमा साप्ताहिक खुब पढ्थेँ । जसमा सधैँ आँखा जाने मध्ये एउटा स्तम्भ थियो ‘उनी’, जसको लेखक थिए अश्वीनी कोइराला । क्याप लगाएको सानो तस्वीर अहिले पनि मलाई याद आउँछ । पछि अनुमान लगाएँ सायद कपाल झर्न थालेर पो क्याप लगाएका थिए कि ? खैर सोध्न भने पाएको छैन ।

ति आमालाई हेरेँ कतै दश वर्ष अघिकै आमा वा त्यही परिवारकै पो हुन् कि ? (सोधिनँ) अहँ थाहा भएन । अनि मस्तिष्कमा अतीतले स्थान पायो । अनि मनका बह लेख्न मन लाग्यो ।

त्यही ताका गुरुदेव डा. योगी विकाशानन्दकोमा नियमित साप्ताहिक प्रवचन हुने गर्दथ्यो । (मेरो जीवनको एउटा अभिन्न हिस्सा, जसले धेरै कुरा बदलेको छ) । एउटा कार्यक्रमका अतिथि थिए अश्वीनी कोइराला । तर क्याप लगाएकै भेषमा । म बोलिनँ । किन ? सायद डराएँ कि बोल्न वा धक लाग्यो कि ? थाहा छैन ।

पछि मैले फेसबुकमा जोडेँ । कुराकानी भयो र २०७२ सालमा कान्तिपुरको थापाथलीस्थित कार्यालयमा बोलाए अनि भेट्ने मौका पाएँ । अँ त्यो दिन मलाई याद छ मैले उनलाई डेढ घण्टा कुरेको थिएँ उतिखेरै नामुद लेखक जो हुनुहुन्थ्यो । गजबको खाजा खुवाउनुभएको थियो । के भन्ने मिर्मिरे याद छ सायद समोसा थियो कि ?

यी त स्मृतिका केही छिटफुट छिटाहरु झल्यास्स भएर आए, जब म आज पुनः रत्नर्पाकको त्यो स्थानमा पुगेँ । मेरो आफ्नै कथालाई सलल बगाउन म २०७१ मा झापातिरै लागेको थिएँ । कथा कहाँसम्म कसरी बगे, थाहा छैन । यद्यपि जीवनकाे रथ चल्यो, मैले चलाइरहेँ । हुनसक्छ यही एक रफ्तार हाे जाे टुट्नु हुन्न ।

तर पछिल्लो समय करिब ३ वर्षदेखि म काठमाडौँमा छु । सामान्यतया उबेलाको जस्तो आफ्नो अवस्था रहेन । न त देश वा परिवेशको अवस्था त्यस्तै रह्यो । प्रविधिले हातमै संसार ल्याइदियो ।

तर आफैँलाई अलिक पर पनि बनायो । खैर पहिले जस्तै धेरै पैदल हिँड्ने अवस्था नभएपछि यस्ता पसलहरुमा समय बिताउन सक्ने स्थिति रहेन । हुन त अरु बेला पनि हतार हतारमा निस्किने गरिन्थ्योँ । तर यसरी याद सल्बलाएन । आज रत्नपार्ककै आकाशे पुल तर्न लाग्दा फर्केर यो तस्वीर कैद गर्न मन लाग्यो ।

ति आमालाई हेरेँ कतै दश वर्ष अघिकै आमा वा त्यही परिवारकै पो हुन् कि ? (सोधिनँ) अहँ थाहा भएन । अनि मस्तिष्कमा अतीतले स्थान पायो । अनि मनका बह लेख्न मन लाग्यो ।

हुन त म आफू गइरहने नभएर हो कि ? मैले यस्ता पसलहरु पहिले जत्तिको देखिनँ । त्यस्तै, मान्छेको भीड त छँदै छैन । पुस्तकहरु नयैँ होलान् तर व्यवस्थापन उही छ । ताैरतरिका पनि उही छ । लाग्छ अझै छन् है यी पसलहरु ? तर खोइ खासै बिक्री हुन्न कि जस्तै लाग्ने ।

अहिले सुनाैलाे प्रविधि, इन्टरनेट तथा नयाँ नयाँ शिक्षा लिने पद्धति बद्लिएको छ । जसले गर्दा मान्छेले जे खोज्यो त्यो प्राप्त गर्ने अवस्था सिर्जित भएको छ । त्यसैले पनि यी पसलहरुको व्यापार घटेको यथार्थ हुन सक्छ ।

साँच्चै, प्रविधिले उनीहरु र उनीहरु जस्ताको खाने मेलो खोसिदिएछ है ? उनीहरुको पनि केही न केही राम्रो विकल्पमा जीवन चलिरहेको होला भन्ने विश्वाससहित मनदेखि शुभेच्छा दिन चाहन्छु ।

यी पसलमा अक्सर आत्मविश्वास बढाउने वा भनौँ आत्मविकाससँग सम्बन्धित पुस्तकहरु हुने गर्छन् । यहाँ एकछिन अडिने मान्छेले आफूलाई दह्रो बनाएरै मात्रै जान्छन् जस्तो लाग्छ । हुन त वर्षौँदेखि यो पसलमा दुःख गर्ने उनको मनोबल चाँहि कस्तो छ सोध्न पाएको छैन ।