३० आश्विन २०८३, शुक्रबार

शेरबहादुर देउवा तीन दशकदेखि सत्ता र शक्तिमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । लामो रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनी हाल पाँचौपटक मुलुकको प्रधानमन्त्री छन् । पार्टी र राज्यसत्ता दुवैको चाबी हातमा लिएर चुनावमा होमिएका देउवाले सभापतिमा पुनः बाजी मारेका हुन् ।

पहिलो चरणको निर्वाचनमा पाँच प्रत्यासीमध्ये कसैको पनि बहुमत नपुगेपछि दोस्रो चरणको मतदान भएको थियो । देउवा पार्टीभित्र दोस्रो पुस्ताका नेताका शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

वि.स. २००३ सालमा डडेलधुराको असिग्राममा जन्मेका देउवा पछिल्ला साढे पाँच दशक यता राजनीतिमा सक्रिय छन् । पटक–पटक प्रधानमन्त्री भइसकेका उनी पार्टी नेतृत्वमा भने दोस्रो पटकमात्रै पुग्दैछन् । उनी विद्यार्थी उमेरदेखि नै राजनीतिमा आएका हुन् ।

०२८ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका देउवा पटक–पटक गरी १० वर्ष १० महिनासम्म जेल जीवन बिताएका छन् । ०४८ सालपछि डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आएका छन् ।

उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने २–२ वटा क्षेत्रबाट निर्वाचित भएका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर–४ तथा दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली–४ बाट निर्वाचित भएका देउवा पार्टी र संसदीय राजनीतिका कुटिल खेलाडी मानिन्छन् ।

कांग्रेसको १०औं महाधिवेशनमा उनी पार्टीको सभापतिका लागि गिरिजाप्रसाद कोइरालासँग सभापतिका प्रत्यासी थिए । तर, उनी पराजित भए । उनले प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत ०५९ जेठ ८ मा संकटकाल लम्ब्याउने निर्णय गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परेका देउवाले ०५९ असोज ४ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति बनेका थिए ।

०६४ सालमा उनले फेरि कांग्रेससँग एकीकरण गरे । र, सिंगो कांग्रेसमा सभापतिपछि मर्यादाक्रममा दोस्रो स्थानमा रहेर काम गरे । राजनीतिशस्त्रमा स्नात्तकोत्तर र कानूनमा स्नातक गरेका देउवा ०५२ सालमा सर्वसम्मत र ०५८ मा सुशील कोइरालालाई पराजित गरी संसदीय दलको नेता भएका थिए । ०७० माघमा भने देउवा तत्कालिन महामन्त्री सुशील कोइरालासँग संसदीय दलमा पराजित भएका थिए ।

कांग्रेसको राजनीतिमा देउवालाई भाग्यमानी व्यक्तिका रुपमा लिइन्छ । उनी ०५१ को मध्यावधि निर्वाचनबाट विपक्षी दलको नेता चुनिएपछि प्रधानमन्त्रीको लागि बाटो खुलेको थियो ।

पार्टीमा दोस्रो पुस्ताको नेताका रुपमा रहेका देउवा ४९ वर्षको उमेरमै मुलुकको प्रधानमन्त्री भए, ०५२ सालमा । त्यसबेला अल्पमतमा रहेको एमाले सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि उनको प्रधानमन्त्री बन्ने अवसर खुलेको थियो । देउवा ०५२, ०५८, ०६१, र ०७४ सालमा समेत गरी चार पटक प्रधानमन्त्री भए । अहिले पाचौंपटक प्रधानमन्त्री छन् ।

राजाले पुनर्बहालीगर्ने भनेपछि देउवा आफैँ प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बनेका थिए । तर, ०५९ असोज १८ मा तत्कालिन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै देउवालाई पदबाट हटाएका थिए । देउवालाई हटाएपछि राजा आफैँले सक्रिय शासन थालेका थिए ।

देउवाले पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धामा भने पटक–पटक हार बेहोरे । १०औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका देउवाले११ औँं महाधिवेशन आफ्नै पार्टीमा गरे । ०६४ को निर्वाचनअघि ४० प्रतिशत हिस्सा लिएर पार्टी एकीकरण गरेका उनले १२औं महाधिवेशनमा फेरि सभापतिमा प्रतिस्पर्धा गरे, तर सुशील कोइरालासँग पराजित भए ।
कोइराला परिवारकै सहयोगमा विद्यार्थी राजनीतिमा उदाएका देउवाले समयक्रममा कोइरालासँगै प्रतिस्पर्धा गरे, र अहिले त उनले आफ्नै नेतृत्वमा कोइराला परिवारकै झैँ शक्तिशाली समूह खडा गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पदबाट हटाएपछि देउवा त्यसैको असन्तुष्टिमा गिरिजाप्रसादका विरुद्ध पार्टीको सभापतिमा उम्मेदवार बनेका थिए, पराजित भएपनि त्यो बेला खडा भएको समूहकै जगमा अहिले देउवा समूह अडेको छ । ०५८ साउनमा देउवा संसदीय दलको नेता निर्वाचित भए, त्यसबेला भने गिरिजाप्रसादले सुशील कोइरालालाई अघि सारेका थिए ।

देउवा साहसी र आफ्ना कार्यकर्ताको भावनाबमोजिम जे पनि निर्णय गर्न सक्ने नेतामध्येमा पर्छन् । उनी नेपाली राजनीतिका केही कालखण्डका चर्चित पात्रमध्येमा समेत पर्छन् ।

पार्टीको निर्णय उल्लंघन गर्दै तत्कालिन माओवादीविरुद्ध लगाएको संकटकालको अवधि थप्ने निर्णय गरेपछि ०५९ सालमा देउवालाई तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले कारवाही गरेका थिए । त्यसपछि नै उनले कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । पछि पार्टी एकतापछि देउवाले सिंगो पार्टीमा पनि आफूले पाउनुपर्ने ४० प्रतिशत भाग कहिल्यै गुमाएनन्, आजको कान्तिपुर दैनिकमा प्रकाश धौलाकोटीले समाचार लेखेका छन् ।