
काठमाडौं, २८ मंसिर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्ड बैठककै दिन आज नेपालको दुवै सदनको बैठक बोलाइएको छ ।
बोर्ड बैठकको चौथो कार्यसूचीमा एमसीसी–नेपाल सम्झौता छलफल हुने भनिएको छ । आज मंगलबार (१४ डिसेम्बर)मा हुने एमसीसी बोर्ड बैठकले मुख्य चारवटा विषयमा छलफल गर्ने छ ।
जसमा एमसीसीको विषयमा भएको प्रगति, एमसीसी २०२२ का लागि योग्य देशहरूको छनोट प्रक्रिया, इथियोपियाको थ्रेस होल्ड, नेपालको एमसीसीको विषयमा बोर्ड बैठकमा छलफल हुने उल्लेख छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बस्ने गरी संसद्को दुवै अधिवेशन आह्वान गरिसकेकी छन् । एमसीसी बोर्ड बैठक राखेकै दिन संसद्का दुवै अधिवेशन राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
त्यसो त तीन साताअघि एमसीसी परियोजना लागू गराउन नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी कम्प्याक्ट सम्झौता तत्काल संसद्बाट अनुमोदन गर्न राजनीतिक दललाई आग्रह गरिसकेका छन् । संसद्बाट अनुमोदन नभएको खण्डमा एमसीसीअन्तर्गत नेपाललाई दिइएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अन्य मुलुकलाई दिने एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले यसअघि नै चेतावनी दिइसकेकी छन् ।
अघिल्लो महिना मात्रै नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री लुले पनि नेपालको प्रमुख राजनीतक दलसँग भेटेर एमसीसी अनुमोदन गर्न आग्रह गरेका थिए । उनले नेपालका राजनीतिक दललाई १४ डिसेम्बरमा बस्ने एमसीसी बोर्ड बैठकअघि नै नेपालको संसद्बाट अनुमोदन गर्न आग्रह गरेका थिए, आजको राजधानी दैनिकमा निराजन पौडेलले समाचार लेखेका छन् ।















प्रतिक्रिया