३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको १४औं महाधिवेशन : रामचन्द्र पौडेलको अवकाश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । जीवनभर कांग्रेसको राजनीति गरेका वरिष्ठ नेता पौडेल १४औं महाधिवेशन चलिरहेका बेला आँसु झार्दै घरतिर लागे ।

कांग्रेसको मूल्य, मान्यताप्रति सधैं अडिग रहेका उनी पार्टीको दोस्रो नेता र सरकारको उपप्रधानमन्त्री भए । तर, पार्टी र सरकारको पहिलो पदमा नपुगी राजनीतिक जीवनको उत्तरार्द्धमा पुगेका छन् ।

पार्टीमा प्रतिपक्षका रूपमा रहेका उनले सभापति शेरबहादुर देउवाका गलत कार्यशैलीप्रति सधैं प्रश्न उठाए । जे देखे, त्यो बोले तर कांग्रेसभित्रको गुट, उपगुट र सत्तास्वार्थका कारण पार्टीको कार्यकारी पदबाट बिदा लिनुपर्ने अवस्थामा पुगे । उनको झन्डै ६ दशकको सक्रिय राजनीतिक यात्रामा बिराम लाग्यो ।

कांग्रेसका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जीवनको उत्तरार्द्धमा पार्टीबाट अलग भएका थिए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले लिएका नीति र कार्यशैलीगत व्यवहारका कारण जसरी सिंह र भट्टराईले पार्टीबाट अलग हुने बाटो रोजे, करिब त्यस्तै नियतिमा पुगेका छन् पौडेल ।

त्यतिबेला सिंह र भट्टराईको गुनासो गिरिजाप्रसादसँग थियो । पौडेलको गुनासो सिंहपुत्र प्रकाशमान र गिरिजाप्रसादका भतिज शेखरप्रति छ । उनीहरूको महत्त्वाकांक्षाको सिकार आफू बन्न पुगेको भन्दै पौडेलले चित्त दुखाएका छन् ।

बोहोराटारस्थित आफ्नो निवासमा शनिबार बिहान सञ्चारकर्मीसँग उनी भावुक भए । त्यसबेला उनले संस्थापनबाहेकबाट साझा उम्मेदवार बन्न नसकेकाले आफू ‘दलदल’मा फस्न नचाहेको भन्दै आँसु पुछेका थिए ।

गत बुधबार चाक्सीबारी बैठकबाटै पौडेलले राजनीतिबाटै अलग हुने अभिव्यक्ति दिएका थिए । त्यसपछि पनि उनलाई सर्वस्वीकृत उम्मेदवार बनाउन पहल भए । आफैंले नेतृत्व गरेको समूहमा सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि शनिबार उनले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएनन् । राष्ट्रिय राजनीतिको भूमिकामा रहिरहने उद्घोष गरेका उनले पार्टी जीवनको प्रतिस्पर्धामा अब नफर्कने सन्देश छाडेका छन् ।

‘१४औं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु, प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक् प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नैपर्ने अवस्थामा म पुगें,’ पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु ।’ आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले समाचार लेखेका छन् ।