
काठमाडौं, २४ मंसिर । सिभिल बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याज दिनेगरी आज शुक्रबारदेखि ‘सिभिल बैंक डिबेञ्चर २०८८’ (ऋणपत्र)को निष्कासन तथा विक्री खुला गरेको छ ।
बैंकले विक्री खुला गरेको ऋणपत्रको अवधि १० वर्षको हुने छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।
निष्कासित ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिन लागिएको छ ।
सर्वसाधारणका लागि छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकको ऋणपत्रमा छिटोमा मंसिर २८ गतेसम्म र उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा आगामी पुस ९ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जानकारी दिएको छ ।
लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ ।















प्रतिक्रिया