३० आश्विन २०८३, शुक्रबार

कांग्रेसको १४औं महाधिवेशन : साझा उम्मेदवार बनाउन नसक्दा बाटो आ–आफ्नो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । आज शुक्रबार उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट निर्वाचित करिब ४ हजार ४ सय प्रतिनिधि राजधानी आइसकेका छन् ।

सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को हुने भन्ने विषयमा सहमति हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंहले आ–आफ्नो प्रचार सुरु गरेका छन् । विमलेन्द्र निधिले भने दुई महिनाअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तीन दिनदेखिका सघन बैठकबाट पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा सफलता नमिलेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकबाट नै अलग भएका छन् । चाक्सीबारीमा बुधबार भावुक अभिव्यक्ति दिएर निस्केका पौडेल बिहीबार समूहको बैठकमा मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठकमा समेत गएनन् ।

उनी शुक्रबार हुने महाधिवेशन उद्घाटन कार्यक्रममै जाने÷नजाने अन्योल छ । ‘तपाईंहरूले मेरो नेतृत्व स्वीकार गर्नु भएन, आपसमा पनि सहमति गर्नु भएन, अब म पार्टीबाट अलग हुन्छु, महाधिवेशनमा पनि आउँदिनँ’ यसो भन्दै गहभरि आँसु लिएर उनी बुधबार बैठकबाट बाहिरिएका थिए ।

बिहीबार बिहान पौडेललाई भेट्न शेखर उनकै निवास बोहोराटार पुगेका थिए । ‘प्रकाशमानजीले स्वीकार गरेमा तपाईंलाई छाड्न मलाई अप्ठ्यारो हुँदैन’ भन्दै शेखर केही लचक बनेका थिए । तर, प्रकाशमानले पौडेललाई उम्मेदवार बनाउने विषयमा सहमति नजनाएपछि शेखरले पनि उम्मेदवारी कायम राखेका छन् ।

समूहमा आबद्ध अन्य नेताहरूले पनि शेखर र प्रकाशमानबीच सहमति नहुने हो भने पौडेललाई साझा उम्मेदवार बनाउन पहल गरेका थिए । गगन थापाले सम्पर्क कार्यालय विशालनगरमै पुगेर शेखरलाई भेटेका थिए । रामचन्द्रको नाममा सहमति भए आफूले अवरोध नगर्ने सन्देश शेखरले दोहोर्‍याएका थिए ।

सहमतिको प्रस्ताव बोकेर बिहीबार बिहान बलबहाुदर केसी, अर्जुननरसिंह केसी र महेश आचार्य प्रकाशमानको निवास चाक्सीबारी पुगेका थिए । साँझ पनि बलबहादुर केसी, मीनेन्द्र रिजाल र गगन थापा सिंहलाई मनाउन पुगेका थिए । तर, सिंहले अडान बदलेनन् । बरु, सहमतिका नाममा अब समय बर्बाद गर्न नहुने बताए ।

‘सबैलाई अटाउन सक्ने नेतृत्व पौडेलजीकै नाममा हुन सक्छ भनेर प्रकाशमान र शेखरजीकोमा पुग्यौं, तर सहमति हुन सकेन,’ नेता बलबहादुरले भने । उनले मनोनयन गर्ने बेलासम्ममा सहमतिका लागि प्रयास गर्ने र टिम बनाउने गृहकार्य पनि सँगै अघि बढाउने बताएका छन्, आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले समाचार लेखेका छन् ।