३० आश्विन २०८३, शुक्रबार

४ पुसदेखि बालबालिकालाई विद्यालयमै कोरानाविरुद्धको खोप

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २४ मंसिर । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।

यो समूहका बालबालिकालाई लगाउन मिल्ने मोडर्नाको खोप ५७ जिल्लाका सम्पूर्ण विद्यालयबाटै दिन लागेको हो ।

लक्षित समूहमा पर्ने बालबालिकाको संख्या करिब ३४ लाख रहेको अनुमान छ । उनीहरूलाई लगाउन यसअघि आएका समेत गरी आइतबारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘खोप आइसकेको भोलिपल्टैबाट जिल्लामा पठाउने तयारी भइरहेको छ । पहिलो डोजका लागि आधा मात्रै खोप पठाइन्छ । ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ,’ स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले भने ।

कोभ्याक्स सुविधामार्फत बिहीबार मात्रै मोडर्नाको १४ लाख ४७ हजार ६ सय डोज खोप आएको छ । यसअघि एक लाख ८८ हजार डोज आएको थियो । आइतबार १९ लाख ६५ हजार ६ सय डोज आउने दाहालले बताए ।

यी सबै कोभ्याक्स सुविधाको निःशुल्क खोप हो । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक लालका अनुसार मोडर्नाकै थप ४० लाख डोज खरिद गरेर ल्याउन लागिएको छ, आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी र मञ्जु टेलरले समाचार लेखेका छन् ।