
काठमाडौं, २१ मंसिर । संसारलाई त्रसित बनाइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गत ८ मंसिरमा पहिलोपटक दक्षिण अफ्रिकी मुलुक वत्सवानामा पुष्टि भएको थियो ।
तर, त्यसको पाँच दिनअघि अफ्रिका हुँदै नेपाल आएका दुईजनामा एक सातापछि संक्रमण देखियो । अहिले आइसोलेसनमा रहेका उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर त्यतिखेर नेपाल आएका दुई जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको छ ।
६६ वर्षीय विदेशी नागरिक र उनीसँग नजिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति रहेको मन्त्रालयले जनाएको छ । उनीहरूको अन्य विवरण भने सार्वजनिक गरेको छैन । ७१ वर्षीय व्यक्ति नेपाली भएको अनुमान अधिकारीहरूको छ । उनीहरू नेपाल आएको सोमबार १७ दिन पुगिसकेको छ ।
नेगेटिभ रिपोर्टसहित काठमाडौं उत्रिएको चार दिनपछि ७ मंसिरमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनीहरू पिसिआर परीक्षणका लागि एक निजी प्रयोगशाला पुगेका थिए । रिपोर्ट पजिटिभ आएको थियो । अफ्रिकाबाट आएकाले पनि शंकास्पद सूचीमा परेका उनीहरूको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एस–जिन सिक्वेन्सिङ गरियो । आइतबार आएको रिपोर्टमा उनीहरूमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले बताए ।
उनीहरू नेपाल आएपछिको चार दिनसम्मको ट्राभल हिस्ट्रीबारे भने जानकारी छैन । संक्रमितको ट्राभल हिस्ट्री जानकारी नभएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । यो अवस्थामा उनीहरूबाट अन्य कतिमा संक्रमण फैलियो भन्ने निश्चित छैन, आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी र मञ्जु टेलरले समाचार लेखेका छन् ।















प्रतिक्रिया