
-निर्मल भट्टराई
राजावादी पार्टीको रूपमा चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महाधिवेशन कमल थापालाई विस्थापन गर्दै सकिएको छ ।
विजयी भएपछि राजेन्द्र लिङ्देलले राप्रपा राजतन्त्र फर्काउन लाग्ने प्रतिक्रिया दिएका छन् भने पराजित कमल थापाले शितल निवासप्रति आक्रोश व्यक्त गरेका छन् । ज्ञानेन्द्रको विश्वासपात्र हुन नसकेकोमा दुखेसो पोखेका छन् ।
०४६ सालको जनआन्दोलनको बलमा ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य भएपछि पूर्व पञ्चहरूको नेतृत्व र पहलकदमीमा राप्रपाको गठन भएको थियो ।
त्यही ताका नेकपा(एमाले)का तत्कालीन महासचिव जननेता मदन भण्डारीले ‘एमाले प्रजातन्त्रको सवालमा नेपाली काङ्ग्रेससंग सन्निकट रहने र राष्ट्रियताको सवालमा राप्रपासंग सहकार्य हुन सक्ने’ धारणा अघि सार्नु भएको थियो ।
मदनको हत्यापछि संसदमा सबैँभन्दा ठूलो दलको हैसियतमा उपस्थित एमालेले राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकारमा पनि सामेल भएको थियो ।
दोस्रो संविधानसभाले २०७२मा संविधान जारी गरेपछि बनेको प्रथम ओली सरकारमा राप्रपाका अध्यक्ष कमल थापाले हिस्सेदारी गरेका थिए ।
सबैलाई थाहा छ, राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले ‘तल सुकेको माथि फुकेको’ पार्टीको रूपमा अस्तित्वमा छ । तृणमूल तहमा अधिकांश राप्रपा कार्यकर्ताले देशको सबैभन्दा ठूलो राष्ट्रवादी-आमूल परिवर्तनकारी शक्ति एमालेमा समाहित भइसकेका छन् ।
निर्वाचनमा पराजित भएपछिका कमल थापाका अभिव्यक्ति देख्दा लाग्छ, यस पाली ज्ञानेन्द्र भक्तिको लिगलिगे दौडमा उनी राजेन्द्र लिङ्देनभन्दा पछि परेछन् ।
राप्रपा पृष्ठभूमिका कति नेतालाई एमालेले संसदमा पुर्यााएको छ । कतिलाई पार्टीको केन्द्रिय कमिटीमा समेत स्थान दिएको छ । कति नेताहरू आगामी निर्वाचनमा राज्यका विभिन्न निकायमा पुग्नेछन् ।
देशलाई हिन्दुसापेक्ष बनाएर र कुनै न कुनै रुपमा राजतन्त्र फर्काउँदामात्र नेपालको राष्ट्रियता जोगिन्छ भन्ने मान्यता राप्रपाले जतिसुकै आकाश-पाताल जोडे पनि आधुनिक नेपाली समाजमा स्थापित हुने अवस्था छैन ।
ज्ञानेन्द्रको जति पटक परिक्रमा गरे पनि अबको नेपालमा कोही नेता बन्नेवाला छैन । जनतामा गएर जति राजतन्त्रको बखान गरे पनि जनताले उनीहरूलाई पत्याउने कुनै संभावना छैन ।
निर्वाचनमा पराजित भएपछिका कमल थापाका अभिव्यक्ति देख्दा लाग्छ, यस पाली ज्ञानेन्द्र भक्तिको लिगलिगे दौडमा उनी राजेन्द्र लिङ्देनभन्दा पछि परेछन् ।
संविधानसभाले गणतन्त्र संस्थागत गरिसकेपछि संघीय गणतन्त्रात्मक संविधानबमोजिम कमल थापाले उपप्रधानमन्त्रीको रूपमा शपथ खाएको ‘महाराज’लाई मन परेको रहेनछ । बेलाबखत थापाले एमाले र अध्यक्ष ओलीको समर्थन वा प्रशंसा गरेकोमा ‘मौसुफ’लाई जलन भएको रहेछ ।
राप्रपाको थापा समूहले बुझ्नु पर्दछ, जनताको तुमुलकारी आन्दोलनको बलमा इतिहास भइसकेको राजतन्त्र फर्काउने असंभव हर्कत गर्नुभन्दा जनताको वलिदानबाट आएको परिवर्तनलाई स्वीकार गरी एमालेसंग सहकार्य गर्न शुरू गर्नु श्रेयस्कर हुन्छ ।
विगतमा राप्रपाको पर्याय मानिएका कमल थापा र उनको समूहले ‘राजा’को काख छोडेर जनताको काखमा आउन आँट गर्ने हो भने एमाले महाधिवेशनको उद्घाटन समारोहमा कमल थापाको शुभकामना भाषणमा जनताले बर्साएको तालीले निरन्तरता पाउन सक्छ ।
समकालीन नेपाली राजनीतिको प्रमुख सञ्चालक हुनुको नाताले एमालेले कमल थापाजस्ता अलपत्र परेका राजनीतिज्ञलाई सहजै उद्धार गर्न सक्छ ।
लिफ्ट दिन सक्छ । विगतमा हृदयेश त्रिपाठीलगायतका नेताहरूको राजनीतिक जीवन एमालेले नै बचाएको हो । रेशम लामा,कोमल ओली एमालेका नेता भइसकेको सबैले दखेकै छन् ।
माओवादी आन्दोलनबाट आएका थुप्रै नेतालाई एमालेको ऐतिहाशिक दशौं महाधिवेशनले नेतृत्नमा शानदार ढङ्गले व्यवस्थापन गरेको छ । सयौं कार्यकर्ताको राजनीतिक जीवन सुरक्षित भएको छ ।
विगतमा राप्रपाको पर्याय मानिएका कमल थापा र उनको समूहले ‘राजा’को काख छोडेर जनताको काखमा आउन आँट गर्ने हो भने एमाले महाधिवेशनको उद्घाटन समारोहमा कमल थापाको शुभकामना भाषणमा जनताले बर्साएको तालीले निरन्तरता पाउन सक्छ ।
यसभन्दा अगाडि बढेर थापा समूहले एमाले र सूर्य चिन्हको छहारी खोज्यो भने राष्ट्रियताको सुदृढीकरण,लोकतन्त्रको सबलीकरण र देशको समृद्धि र समाजवाद निर्माणमा आफ्नो औचित्य सावित गर्न सक्छ ।
आउटडेटेट अजेण्डा बोकेर जनताको भावनाविपरित प्रतिगमनकारी गतिविधिमा मात्र सरिक होइरहने हो भने उनीहरूसंग आफ्नो राजनीतिक अवसान कुर्नुबाहेक कुनै विकल्प बाँकी रहने छैन ।













प्रतिक्रिया