३० आश्विन २०८३, शुक्रबार

पूर्ण खोप लगाएकालाई अब बुस्टर डोज, प्राथमिकतामा को–को ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २० मंसिर । सरकारले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर डोज दिने तयारी गरेको छ ।

नयाँ भेरियन्ट ओमिक्रोनको त्राससँगै स्वास्थ्य मन्त्रालयले बुस्टर डोजको अभियान सञ्चालन गर्न लागेको हो ।

‘मंसिरको अन्तिम साता वा पुसको सुरुबाट बुस्टर डोज दिन सुरु गर्छौँ,’ आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भने, ‘प्रदेश, स्थानीय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत देशभरका १६ हजार ठाउँबाट अभियान सञ्चालन हुन्छ । सरकारी संयन्त्रलाई मिलाएर योजना सार्वजनिक गर्छौँ ।’

पूर्ण खोप लगाएकालाई सोही कम्पनीको अर्को एक डोज थप्नुलाई नै बुस्टर डोज मानिएको छ । पूर्ण खोपका लागि जोन्सन एन्ड जोन्सनको एक डोज मात्रै लगाए हुन्छ भने अन्य कम्पनीको दुई डोज लगाउनुपर्छ ।

मन्त्री खतिवडाले बुस्टर डोज दिनेबारे मन्त्रिपरिषद्मा पनि छलफल भइसकेको बताए । अघिल्लो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले पूर्ण खोप लगाएकालाई बुस्टर जोड चलाउन निर्देशन दिएको उनको भनाइ छ ।

‘पूर्ण खोप लगाएकालाई अर्को डोज थप्नु नै बुस्टर डोज हो । तेस्रो डोज लिइयो भने अझै सुरक्षित भइन्छ भन्ने छ । ओमिक्रोनको त्रासबीच हामी पनि यसलाई प्रयोगमा लैजाँदै छौँ,’ मन्त्री खतिवडाले भने ।

विश्वभर अहिलेसम्म कुल २ शदमलव ८ प्रतिशतले बुस्टर डोज लगाएका छन् । अमेरिका, बेलायत, इजरायललगायत देशमा यसलाई तीव्र पारिएको छ । उच्च संक्रामक मानिएको ओमिक्रोन भेरियन्ट आएसँगै ती देशहरूले बुस्टर डोजलाई प्राथमिकतामा राखेका छन् । दक्षिण एसियामा छिमेकी भारत र श्रीलंकामा पनि यो भेरियन्ट पुष्टि भइसकेको छ ।

संसदीय समितिले छुटेका नागरिकमा खोप पुर्‍याउन, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई घरमै पुगेर खोप सेवा दिन सरकारलाई निर्देशन दिएको छ । भारतबाट आउने नागरिकलाई प्रवेशका लागि खोप कार्ड र पिसिआर रिपोर्ट अनिवार्य गर्न र ओमिक्रोनको सम्भावित जोखिमसँग लड्न पूर्वतयारीमा लाग्न पनि भनेको छ, आजको नयाँ पत्रिका दैनिकमा किरण दाहाल र अर्जुन अधिकारीले समाचार लेखेका छन् ।