न्युयोर्क । एनआरएन एनसीसी, अमेरिकाको चुनावी सरगर्मी बढ्दै गइरहेको बेला अध्यक्ष पदका प्रत्यासी गणेश कुँवरले न्युयोर्कमा आफ्नो चुनावी अन्तरक्रिया सभा सम्पन्न गर्नुभएको छ ।
न्युयोर्कको सन्नीसाइडस्थित मालिंगो रेस्टुरेन्टमा करिब १५० भन्दा बढी नेपाली समुदायका अगुवा समाजसेवी, पत्रकार र सर्वसाधारणहरुको उपस्थितिमा सम्पन्न भब्य सभामा कुँवरले एनआरएन अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको औचित्यमाथि प्रष्ट पारेका पार्नुभएको थियो । यस संस्थाको आर्थिक, साँगठनिक र व्यवस्थापकीय क्षमतालाई सुदृढ बनाई हालको समग्र संस्थागत अवस्थामा परिवर्तन गर्नको निम्ति आफूले यस संस्थाको अध्यक्ष पदमा नेतृत्व लिन चाहेको उहाँले बताउनुभयो । एनआरएनलाई अमेरिकाभरका सबै प्रवासी नेपालीहरुको बास्तविक साझा संस्था बनाउन सबै राज्यहरुमा स्थानीयस्तरमै उत्प्रेरणामुलक किसिमबाट संस्थाको प्रत्यक्ष सदस्यता वितरण गर्दै संस्थाको सबै तहको निर्वाचन प्रक्रिया र पद्दतिलाई प्रत्यक्ष, स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन आफ्नो प्रमुख भूमिका रहने प्रतिबद्धतापनि उहाँले ब्यक्त गर्नुभयो । त्यस्तै आफु अध्यक्ष पदमा निर्वाचित भएमा संगठनको संचालन र बिस्तारमा व्यक्तिगत, राजनीतिक तथा अन्य गुटगत स्वार्थलाई सर्वोपरी गर्ने भन्दापनि निस्वार्थ संस्थागत सामुहिक सेवा भावनालाई व्यवहारिक रुपले नै स्थापित गर्नेगराउने तर्फ ध्यान दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा एनआरएन अमेरिकाको बिभिन्न पदहरुमा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरु सीता खरेल, कुन्ती थापा, प्रकाश बस्नेत, नेदेन दोंगाला, विश्व शाह, रबिन बज्राचार्य, सत्येन्द्र शाह, हरिश हमाल लगायतले पनि आफ्नो उम्मेदवारीको औचित्यबारे बोल्दै अध्यक्ष पदमा कुँवरको बिजयको अग्रिम बधाई र शुभकामना पनि दिनुभएको थियो ।
त्यस्तै एनआरएन आईसीसी सदस्य पदमा उम्मेदवारी दिएकी सुनिता शर्माले अध्यक्षका उम्मेदवार कुँवरलाई आफ्नो समर्थनसहित अग्रिम बधाई र शुभकामना मन्तब्य दिंदै एनआरएन अमेरिकाको निर्वाचन बोर्डले आफ्नो उम्मेदवारीको अन्तिम नामावली अहिलेसम्म प्रकाशित नगर्नुले संस्थाप्रति नै समाजमा बिभिन्न आशंका उत्पन्न गराएको कुरा बताउनुभयो ।
न्युयोर्कस्थित नेपाली समुदायका बरिष्ठ समाजसेवी टेक गुरुङको स्वागत मन्तब्यसहित सुरु भएको सभामा एनआरएन अमेरिकाका उपाध्यक्ष बनिता कतिला, एनआरएन अमेरिकाका महिला कार्यदल सदस्य मुना राई, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष संजय थापा, प्रवासी नेपाली मञ्च न्युयोर्कका अध्यक्ष राधाकृष्ण देउजा, प्रवासी नेपाली एकता मञ्चका बिदुर बिष्ट, रिजवुड नेपाली समाजका सदस्य भुवनेश्वर अधिकारी, संघिय समाज अमेरिकाका अध्यक्ष भरत लामा, गुरुङ समाज अमेरिकाका मेघ गुरुङ, आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लुइसांग वाईबा, मगर संघ अमेरिकाका महासचिव मान बहादुर मगर लगायतले अध्यक्ष पदका प्रत्यासी कुँवरको चुनावी एजेन्डाको प्रसंसा गर्दै एनआरएन अमेरिकाको समग्र संस्थागत परिवर्तन र बिकासका साथै सामाजिक हितको निम्ति न्युयोर्क मात्र नभई यहाँका सबै राज्यमा बस्ने नेपालीहरुले योग्य, सक्षम, र उपयुक्त नेतृत्वको बिजयका लागि आफ्नो तर्फबाट भूमिका निभाउन समेत अनुरोध गर्नुभएको थियो ।
एनआरएन अमेरिकाको निर्वाचनका लागि अहिले भैरहेको चुनावी प्रचारप्रसारको गतिविधिहरुमा केहि उम्मेद्वारहरु र सामाजिक, राजनीतिक अगुवाहरुसमेत आफ्नो व्यक्तिगत, आर्थिक एवं अन्य स्रोतको अतिउपयोग गर्दै संस्थासंग सम्बन्धित अत्यन्त गम्भीर सामाजिक सवालहरुमा भन्दापनि एनआरएनलाई एउटा कुनै राजनीतिक पार्टी वा गुटको कब्जामा ल्याउने भन्ने खालका गैरसामाजिक प्रबृत्ति र रणनीतिहरु बढिरहेको न्युयोर्कवासी नेपालीहरु बताउँछन् । यस्तो प्रवृत्तिलाई निरुत्साहित गरि सामाजिक रुपले स्वच्छ छवि र स्पष्ट दृष्टिकोण भएको उम्मेदवारलाई मात्र एनआरएन अध्यक्षका रुपमा बिजयी गराउनुपर्ने आवश्यकताप्रति यहाँको प्रवासी नेपाली समाजभित्र व्यापक बहस पैरवी भैरहेको छ । चुनावी प्रचार अभियानका लागि तोकिएको अन्तिम दिनहरु नजिकिंदै गर्दा अहिले अमेरिकाका न्युयोर्क लगायत सबै राज्यका नेपाली प्रवासी समाजहरुमा भावी एनआरएन अध्यक्षका रुपमा कुँवरको पक्षमा व्यापक जनसमर्थन बढ्दै गैरहेको जानकारहरु बताउँछन् ।
















प्रतिक्रिया