९ कार्तिक २०८३, सोमबार

मिलन पाण्डेद्वारा विवेकशील साझाले गर्ने आमसभा बहिष्कार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अहिले दिउँसो ललितपुरमा आयोजना हुने आमसभा बहिष्कार गरेका छन् ।

पार्टीले दुई वटा अन्य पार्टीसँग एकीकरण गरी घोषणा गर्ने उद्देश्यका साथ उपत्यकामै पहिलोपटक आयोजना गर्न लागेको आमसभा पाण्डेसहित दर्जनौं नेताहरूले बहिष्कार गर्न लागेका हुन् ।

संयोजक पाण्डेसहित पार्टी संसदीय दलका नेता रमेश पौड्याल, शीर्ष नेता केशव दाहाल, बागमती प्रदेश संयोजक र चर्चित नेत्री रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतम र सचिवहरू लगायत धेरै नेताहरूले उक्त आमसभा बहिष्कार गर्ने भएका छन् ।

पाण्डे समूहले गणतन्त्रलाई बलियो बनाउने, सङ्घीयतालाई सुदृढ गर्ने र धर्मको नाममा समाजमा विभाजन ल्याउन नहुने भन्दै पार्टीमा फरक मत राख्दै आएका छन् । तर, मिश्र समूहले पुरानै राजनीतिक दलकोझैं गरेर तथा वैकल्पिक विचारलाई तिलाञ्जली दिनेगरी गतिविधि गरिरहेको भन्दै पार्टीमा चर्को विवाद हुँदै आएको छ ।

आज एकीकरणमा सहभागी हुने अन्य दुई वटा पार्टीलाई ‘अपरिचित समूह’को संज्ञा दिँदै पाण्डे समूहले व्यवस्था बिरोधी रहेको र राजसंस्था, हिन्दु राज्य र संघीयता खारेजीको मुद्दाको वकालतकर्ता रहेको टिप्पणी गरेको छ ।

पार्टीमा रवीन्द्र मिश्रले सङ्घीयता खारेजी, धर्मको नाममा राजनीति गर्ने एजेन्डा र गणतन्त्र विरोधी प्रस्ताव ल्याएपछि पार्टीमा विवाद आएको हो ।

हेर्नुहोस् पाण्डेले विरोधस्वरुप लेखेको स्टाटस–

” वैकल्पिक राजनीति भनेको वैकल्पिक राजनैतिक संस्कार हो “
धेरै संस्थापक नेताहरूले पार्टीमा राजीनामा दिएका छन्। धेरै सदस्यहरू निराश छन्। यो उत्सवको बेला होइन। यो गम्भीर समीक्षाको बेला हो।
साझा पार्टी सुरु भएयता महाधिवेशन गर्न सकेको छैन। ३ वर्षमा महाधिवेशन गर्ने भनेर विधानमा लेखियो, ३ वर्षमा महाधिवेशन गर्ने भनेर विधानमा लेखिएको कुरा ४ वर्षपछि मात्र थाहा भयो। हतार-हतार संविधानमा ५ वर्ष लेखेको छ भनेर निर्वाचन आयोगमा निवेदन दियौँ।
लगभग सबै संस्थापक केन्द्रीय नेताहरू पार्टीले गुमाइसक्यौँ। जे मुद्दा बोकेर पार्टी सुरु गरेका थियौँ, आज ती मुद्दाहरू कता कता अलमलिएका छन्। पार्टी/आन्दोलन मृत्युशय्या छ तर पनि हामी उत्सव मनाउँदै छौँ।
काँग्रेस र एमाले जस्तो पार्टी बन्ने छुट छैन भनेर राजनीति सुरु गर्‍यौँ। तर, आज राप्रपाको ठाउँ लिन र भाइ राप्रपा बनाउने दिशामा किन उद्दत छौँ ? एक दुई जना सांसद बन्नु नै हाम्रो राजनीतिको प्राथमिकता थियो र ?
त्यसैले, आज वैकल्पिक आन्दोलनले निर्मम समीक्षा मागेको छ।
यही संविधानलाई सुदृढ बनाउने भनेर सुरु गरेको राजनीति आज संविधान भत्काउने एजेन्डामा किन जाकिन पर्‍यो ? सुसंस्कृत राजनीति गर्ने भनेर उदाएको पार्टी आज फेरी त्यही मोटरसाइकल र्‍याली, शक्ति प्रदर्शनको बाटोमा किन लाग्यो ? ४ वर्षमा किन लगभग सबै नेताहरूले पार्टी छाडे ? पार्टी चिरा चिरा परेको छ, तर यो कस्तो एकीकरणको उत्सव हो ?
यो अवस्थामा रहेको पार्टीमा २० लाख खर्च गरेर ( कति पैसा को को सँगबाट उठ्यो र कति खर्च भयो भन्ने पारदर्शिताको प्रतिवेदन आउला नै ) पाच सात सय मानिसको आम सभा गरेर भाषण गर्नु आज वैकल्पिक राजनीतिको प्राथमिकता कसरी भयो ? सहभागितामूलक लोकतन्त्रको कार्यदिशाले सदस्यलाई पार्टीको मुद्दामा सहभागी गराऊ भन्छ की ताली बजाउन बोलाऊ भन्छ ?
लाखौँ खर्च गरेर आम सभा गर्नुभन्दा २०० जना युवालाई रोजगारी र उद्यमशीलताको तालिम दिँदा पो वैकल्पिक राजनीति फैलिन्थ्यो की ? शनिवार हेलमेट नलगाई, हरन बजाएर, कालो धुवा फालेर बाइक र्‍याली गर्नु सट्टा बरु वातावरण संरक्षणको मुद्दा सहित साइकल र्‍याली गर्दा पो सन्देश राम्रो जान्थ्यो की ?
कसैको फोटो बोकेर खोक्रो र्‍याली गर्नुभन्दा महिला-हिंसा ( समाचार: पाँच वर्षमा बलात्कारका १३ हजार घटना ) विरुद्ध १ महिने सचेतना कार्यक्रम गरेको भए पो हामी स्थापित हुन सहयोग पुग्थ्यो की ?
वैकल्पिक राजनीति भनेको वैकल्पिक राजनैतिक संस्कार हो।
एमालेले ५ लाख (उसको दाबी अनुसार), राप्रपाकै ४००० प्रतिनिधि सहितको महाधिवेशन, काँग्रेसका लाखौँ कार्यकर्ताको अगाडी हामी भिड देखाएर जित्न सक्दैनौँ।
हामी जित्न सक्छौँ त केवल विवेक प्रयोग गरेर। Innovation र creativity लाई राजनीतिमा जोडेर।
ओमीक्रोन भारत आइसकेको छ। हामीले हाम्रा नेता उज्वल थापाजी र रमेश महर्जनजीलाई कोरोनाकै कारण गुमाइसकेका छौँ। कृपया भिडभाड गर्ने र कोरोना फैलाउने काम नगरौँ।
मास्क लगाऔँ।
सामाजिक दुरी कायम राखौँ।
बेला बेलामा हात धोऔँ।