
काठमाडौं, १८ मंसिर । गत बुधबारदेखि काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेनबाट नयाँ नेतृत्व चयन गर्न आज मतदान हुने भएको छ ।
अध्यक्ष, ४ जना उपाध्यक्ष र ३ जना महामन्त्री पद र सदस्यहरूको पदमा निर्वाचन हुन लागेको राप्रपाको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । जारी अधिवेशनबाट नेतृत्वमा पुग्नका लागि वर्तमान पार्टी अध्यक्ष कमल थापा र पार्टीको एकमात्र सांसद राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।
पार्टीको हिजो अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उमेदवारी दर्ता गराएका छन् ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए । प्रारम्भिक नामावली २ बजे प्रकाशित हुने छ ।















प्रतिक्रिया