सुर्खेत, १ वैशाख । जाजरकोटलाई ‘खुला दिसामुक्त’ घोषणा गर्दा गत पुस १८ मा सरकारी अधिकारीले जनतालाई आश्वस्त पारेका थिए– अब हाम्रो जिल्लामा कुनै पनि महामारी फैलिनेछैन।
त्यस दिन भेरी अञ्चलकै पहिलो खुला दिसामुक्त जिल्लाका रूपमा दरिँदा जाजरकोटले पाँच वर्षअघिको महामारी–पीडा भुलेको थियो, जुन महामारीमा १ सय ५४ स्थानीयको ज्यान गएको थियो।
चैत दोस्रो साताबाट उही पुरानै पीडा झल्काउने गरी ‘पहिचान हुन नसकेको रोग’ को संक्रमण फैलिएपछि जाजरकोटमा प्रचार गरिएको स्वच्छताको अवस्थामा प्रश्न उठेको छ।
महामारी प्रकोपपछि प्रभावित क्षेत्र पुगेका पहिलो चिकित्सक डा दीपक पुनका अनुसार यो पानीजन्य रोगको संक्रमण हो, जुन सरसफाइ र स्वच्छताको कमीले हुने गरेको छ ।
‘रोगको वास्तविक निदान त प्रयोगशाला रिपोर्टपछि आउला,’ उनले नागरिकसँग भने, ‘मेरो अहिलेसम्मको विश्लेषणमा यो प्रदूषित पानीकै कारण देखिएको समस्या हो।’
सरकारी आँकडा हेर्ने हो भने जाजरकोटमा सरसफाइ र स्वच्छताको अवस्था मजबुत देखिन्छ। जिल्लाका सबै ३० हजार ३ सय ४० घरधुरीमा शौचालय बनेका छन्। समग्र मध्यपश्चिममा भने अहिले पनि ७ प्रतिशत घर शौचालयविहीन छन्।
स्वच्छ खानेपानीको उपलब्धता पनि निकै सन्तोषजनक रहेको नागरिक दैनिकले छापेको छ। यहाँका ८१.२१ प्रतिशत घरमा पाइप प्रणालीको खानेपानी छ। मध्यपश्चिममा भने यो अनुपात ७६.१२ प्रतिशत मात्र छ।















प्रतिक्रिया