
काठमाडौं, १७ मंसिर । १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल छन् ।
उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्तहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त परिमाणको रकम ठगी गरेको प्रहरीले बताएको छ । आफूलाई डा. बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाउन आग्रह गरेको पाइएको छ ।
उनको आग्रहलाई पीडितले स्वीकार गर्दै पैसा दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । अभियुक्तले आफूलाई रकम सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिने आश्वासन दिइ भण्डारी र भुजेल समेतको बैंक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।
उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।















प्रतिक्रिया