९ कार्तिक २०८३, सोमबार

राजसंस्था ब्युँताउने उद्देश्यका साथ काठमाडौंमा राष्ट्रिय धर्मसभा गरिँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । विश्व हिन्दु एकता परिषद्ले मंसिर १९ गतेदेखि राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्ने भएको छ ।

देशको धर्म, संस्कृति र परम्पराहरूको नाश भइरहेको र यस्तो अवस्थामा चेतनशील नागरिक चुप लागेर बस्नु ठीक नभएकाले भन्दै यही मंसिर १९, २० र २१ गते राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्न लागेको परिषद्ले जानकारी गराएको हो ।

परिषद्ले अहिलेको व्यवस्था नै असफल भइसकेको निश्कर्ष निकालेको छ । उसले वर्तमान व्यवस्था खासगरी गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विफल भैसकेको निश्कर्ष निकालेको छ । परिषदले व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका तीनवटै अंग पङ्गु भइरहेको र जनताले अहिले बेथिति, महँगी र भ्रष्टाचार भोग्नुपरेको भन्दै यसबाट मुक्ति दिलाउनको लागि पनि राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्न लागेको स्पष्ट पारेको छ ।

राष्ट्रिय धर्मसभाका राष्ट्रिय संयोजक किशोरी महतोले देशमा जबसम्म प्रजातन्त्र र राजसंस्था स्थापित हुँदैन तबसम्म यो देश र जनताको भलो नहुने दाबी गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजाको नाम भजाएर जनतालाई ठगिरहेको पनि आरोप लगाए ।

राजसंस्था, बैदिक सनातन हिन्दु अधिराज्य, अखण्ड नेपाल र संयुक्त शासन प्रणालीले मात्र नेपाललाई सही तवरले अघि बढाउन सक्ने भन्दै अबको दिनमा नेपाली जनता शसक्त रूपमा यी एजेण्डा लागू गर्न अगाडि आउनुपर्नेमा संयुक्त राज्य जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुर्इँटेलले बताए ।