
काठमाडौं, १७ मंसिर । कोरोना लागेर सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले छिटै डिस्चार्ज हुने र निवासबाटै सर्वाेच्च अदालत चलाउने सन्देश न्यायाधीशहरूलाई दिएका छन् ।
तीन दिनदेखि अदालतमा अनुपस्थित हुँदासमेत औपचारिक बिदामा नबसेका जबराले वरिष्ठतम न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी नदिने स्पष्ट संकेत गरेका छन् ।
प्रधानन्यायाधीश कार्यालयमा उपस्थित नहुने र कामयमुकायमको जिम्मेवारीमा पनि कोही नरहने अवस्थाले अदालत नेतृत्वविहीन भएको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि १८ न्यायाधीश बिहीबार दिउँसो छलफलमा बसेका थिए । उनीहरूले बैठक हलबाटै जबरालाई फोन गरेर बिदामा बस्न र कायममुकायम तोकेर निकास दिन आग्रह गरेका थिए । तर, उनले सम्भवतः शुक्रबार डिस्चार्ज भएर सरकारी निवास बालुवाटार फर्किने जवाफ मात्रै दिए ।
‘हामीले दीर्घकालीन निकास त भनेका नै छौँ (राजीनामा), अहिले अल्पकालीन (कायममुकायम)बारे प्रधानन्यायाधीशसँग आफैँ कुरा गरौँ न त भनेर हाम्रोतर्फबाट सामूहिक रूपमा हरिकृष्ण कार्कीले फोनमार्फत संवाद गर्नुभएको हो । उहाँलाई बारको प्रश्न (न्यायालयको नेतृत्व को ?)बारे बताउँदै निकास दिन आग्रह गर्यौँ,’ एक न्यायाधीशले भने, ‘उहाँले सम्भवतः भोलि डिस्चार्ज हुने र बालुवाटार आउने कुरा गर्नुभएको छ । हेरौँ के हुन्छ ।’
प्रधानन्यायाधीश अदालत उपस्थित हुन असमर्थ रहेको अवस्थामा कायममुकायमको जिम्मेवारीमा वरिष्ठतम न्यायाधीश रहने व्यवस्था संविधानको धारा १२९ को उपधारा ६ मा स्पष्टै छ । तर, संविधानले नै निर्दिष्ट गरेको नियम कार्यान्वयन गर्न जबरा तयार देखिँदैनन् । यसलाई न्यायाधीशहरूले घरबाटै अदालत चलाउने सन्देशको रूपमा बुझेका छन् ।
जबराले मंगलबार अदालत उपस्थित नै नभई अस्पतालबाटै पेसी तोकेपछि रुष्ट बनेका कानुन व्यवसायीले बुधबार बहस बहिष्कार गरेका थिए । गोलाप्रथाबाट पेसी तोकिएको पहिलो दिन नै अधिकांश मुद्दाको सुनुवाइ भएन । कानुन व्यवसायीले न्यायालयको नेतृत्व नै खाली भएको गम्भीर सवाल उठाएपछि न्यायाधीशहरू इजलास छाडेर छलफलमा बसेका थिए । न्यायाधीशहरूले जबराको स्वास्थ्य अवस्था र कायममुकायम तोक्ने विषयमा धारणा ल्याउन मुख्य रजिस्ट्रारलाई भनेका थिए । तर, मुख्य रजिस्ट्रारले न्यायाधीशहरूको तर्फबाट राखेको सवालमा कुनै जवाफ नदिएपछि बिहीबार आफैँ फोन गरेका हुन् ।
‘मुख्य रजिस्ट्रारले हाम्रो मेसेज कन्भे गर्नुभो, उताबाट जवाफ आएन । त्यसैले हामीले नै फोन गरेका हौँ,’ एक न्यायाधीशले भने । शुक्रबार पनि यसबारे आफूहरू छलफलमा बस्ने उनले बताए ।
घरबाटै अदालत चलाउने जबराको सन्देश न्यायाधीशहरूमार्फत पाएपछि कानुन व्यवसायीले आपत्ति जनाएका छन् । वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारीले सरकारी निवासबाट जबराले प्रशासनिक काम गर्न नमिल्ने बताए । ‘वास्तवमा संविधानलाई हेर्ने हो भने प्रधानन्यायाधीशलाई सञ्चो नभएपछि स्वाभाविक रूपमा आफ्नो जिम्मेवारीबाट अलग हुनुपर्ने हो । यो सामान्य विषय हो,’ उनले भने, ‘उहाँले बालुवाटारबाट अदालतको प्रशासन चलाउँछु भन्नुको अर्थ एकान्तवासबाट चलाउँछु भन्ने हो । त्यो सम्भव नै देखिँदैन । कोभिड भएको भनेर अस्पतालले सूचना निकालिसकेपछि पनि सर्वोच्चलाई औपचारिक जानकारी गराउनुभएको छैन । स्वास्थ्य मापदण्डको समेत ख्याल नगरी उहाँले कसरी काम गर्न सक्नुहुन्छ ?’, आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।















प्रतिक्रिया