जीवनको पर्याय बनेको भौतिकवादभित्र यसको महत्वले अन्तरवस्तुलाई गिज्जाइदियो । यहि समयको गतिशीलताभित्रको आलिंङ्गनले अन्तत यसभित्रको विभक्तिहरूलाई खोज्न बाध्य बनाइदियो । सोँचको विविधताभित्र पनि पृथकताको हावी सर्वत्र नभएता पनि एकत्वको महत्व पनि प्रधान बनिदिने रहेछ । हिजोको त्यो स्वर्णिम पलभित्र पनि वादलको गर्जन खोज्न अभ्यस्त आत्माहरू जर्जर बनिदियो ।
प्राप्तिको सीमा नहुँदो रहेछ । यसैमा अभ्यस्त हुनेहरू सफल ठान्नेहरूको भीडमा जीवन व्यतित गर्नेरहेछन् । कमजोर मस्तिष्कमा साँच्चै सफलता मापन गर्नेहरू बढी हुँदोरहेछन् । जसले जहाँ भएता पनि सफल महशुश गर्नेहरू बाहिर दुनियाँमा रम्ने कोशिस गर्नेहरू आत्मिक चिन्तनमा कति अभ्यस्त बन्लान् ? पीडा लुकाएर बाँच्नेहरू भौतिकतामा जीवन खोज्दारहेछन् । जहाँ हृदयको कम्पन महशुस गर्ने चेतना हुन्छ, मान्छेहरू खुशी हुन सक्दा रहेनछन् । त्यसमा अभ्यस्त हुन खोज्नेहरू धर्तीमा कमैमात्र हुन्छन् । कमजोरीलाई जीवनको अमूल्य उपहार सोच्नेहरू नै साँच्चै समाज परिवर्तनका सम्वाहक हुन क्यारे, धेरै संख्याहरू विलिन भएर गएता पनि त्यसवाट बाहिर निस्कन खोज्नेहरू
नै अभिमन्यू बने ।
प्रकाश किरण पनि हिजोको उहि समय र आजको उहि समयमा समान नहुँदो रहेछ । वायुमण्डलमा बहने हावाका कणहरूको मात्रा पनि असमान हुने रहेछ । मिथ्यामा सबैलाई समान सोच्ने मस्तिष्कहरू भने बाहिरी दुनियाँमा नै जीउन अभ्यस्त बनिदियो । पर्यायको सम्वाहक बनेको भौतिकताको त्यो प्राप्ति जीवन खोज्नेहरूको भीडमध्ये कसैलाई जीवन र भौतिकवादको मूल्यांकनको आभास भयो कि भएन होला ? भीडको त्यो अत्यासलाग्दो पल होस वा शीतलताभित्रको क्षणमा पनि पाइलामा देखिएको रोकावटले साँच्चै जीवनमा भौतिकवादको महत्वलाई आत्मासात गर्न सकेन । पल उही, तर, सोँचको विविधतामा फरक, देख्ने र भोग्ने जीवनका वीचमा तादात्म्यता मिलाउन नसक्दा हृदयभित्र असीमित प्रश्नहरू तेर्सिए । भौतिक प्राप्तिमा नै सफल जीवन सोच्नेहरू जीवनका उत्तरार्धमा देखिने नैराश्यताले गिज्याउने रहेछ । फरक यति रहेछ कि यसको आभास, कसैलाई पहिल्यै हुने रहेछ, कसैलाई उत्तरार्धमा त कसैलाई यो अनुभति गराउने ल्याकत नै नहुने रहेछ । सम्पन्नता नै जीवन भन्ने सोँचमा सायद राजी हुन कदापी सकिएन ।
विवशता एउटा भएता पनि निर्लज्जता अर्को पाटो रहेछ । वाहिरी आवरणमा देखिने क्रान्तिकारीता नयनमा प्रष्ट देखिन्छ । समयलाई समेत जित्न सक्ने सोँच भनेको भौतिक सम्पन्नता नभई सोँचको विशिष्टता हो । यसमा नै घोत्लिन नपाइ पल गुजार्नेहरू सृष्टिका निरन्तरता मात्र हुन् । जसमा अधिकांशहरू अभ्यस्त बन्दछन् । साँच्चै धर्ती निर्मित वस्तुको विशिष्टता र मानव निर्मित वस्तुको विशिष्टतामा आकाश जमिन जत्तिकै अन्तर हुँदो रहेछ । जब जीवनको अर्थ खोज्न प्रेरित हुन्छ, टेकेको पाइलाले पनि गिज्जाए जस्तो लाग्दो रहेछ ।
मस्तिष्कमा खेल्ने यी ज्वारभाटा सायद अन्यमा देखिए कि देखिएनन् होला ? प्रश्नका गहिराई अझै कहिलेसम्म गहिरिने होला ? शरीरमा भएका वस्त्र पनि धेरै भएजस्ता, भएका भौतिकताले मस्तिष्कमा दिने दुःखको पीडाले मनमा शान्ति किन दिदैन होला ? भौतिकता नै मानव जीवनका सवैभन्दा ठूलो शत्रु रहेछ क्यारे, जसले कहिल्यै शान्ति नदिने ! मस्तिष्कका रेशा समेत मोटा बनाइदिने, हृदयलाई नै तरंगित र असमान्य बनाइदिने ! जीवनको शाब्दिकता नै भुलाइदिने यो भौतिकता नै जीवनका प्रमुख दुश्मन !
अभाव र प्रभावमा गुज्रेको जीवनमा भौतिकता प्रधान बन्ने रहेछ । अभाव मानव जीवनको वाध्यता भएता पनि प्रभाव मानव जीवनलाई नै वन्धक वनाउने तत्व । यही वीचको अन्तरघुलनमा घुलेको जीवन अन्तत भौतिकवादमा गएर विलिन हुने रहेछ । यहि एकमात्र ध्येयमा पुग्नेहरूको भीडले अन्तत जीवनलाई नै घुलित बनाइदियो । निस्कनै नसक्ने जंजालमा फसेको जीवन बाहिर निस्कन साधारण सोच र चेतनाले सायद सम्भव नहोला । यहि नै जीवनको साधन रहेछ, साध्यमा जीवन बिताउनेहरू कमै हुने रहेछ । जब जीवनमा साध्य र साधनको वीचको दुरी मापन गर्ने ल्याकत राखिन्छ, जीवन फिक्का, अमिलो र निरश लाग्दो रहेछ । यहि फिक्का र अमिलो जीवन वाँच्न खोज्नेहरू समाजमा अमानव कहलिदो रहेछ । जसलाई यो भौतिकवादी जीवनमा वाँच्न निकै कठिन हुने रहेछ ।
असममानता को मापन जीवनमा गुणमा गरिन्छ, कि अवगुणमा ? सोँचमा गरिन्छ कि चेतनामा ? भौतिकतामा गरिन्छ कि जीवनको ध्येयमा ? प्रश्न यही हो । सायद सबैमा मानवता रहेको हुन्छ, मात्र यसको मात्रामा फरक हुन्छ, मात्राको घटीबढी चेतनाले गर्ने रहेछ । यहाँ मानव जीवनको सफलता भौतिकता र आर्थिकतामा खोज्दा जीवनका रौद्ररसहरू विलिन भइदिए ।
निर्लज्जताको पनि हद हुन्छ, क्यारे ! अनुकुलताका निर्जलताले आत्मामा नै जलन दिने । त्यति धेरै निर्जलताभित्रको प्राप्तिले जीवनमा कस्तो सफलता देला र ? आफैलाई पोल्ने निर्लज्जताको मुखतरित अन्ततः हृदयमा नै बिझाउने । नयनमा देखिएको त्यो निर्लज्जता जीवनका पर्याय होइनन् । जसले जीवनको अंश मुखतरित गर्देन । मिर्मिरे उज्यालो लाई चिर्दै सूर्य उदाए पनि समयसँगै त्यो विलिन हुन्छ भने मानवताको घमण्ड निश्चित समयमा पतन हुन्छ भन्ने कुरा मस्तिष्कमा किन छापिएन ।
साँच्चै अभाव र प्रभावमा जब दम्भ मिश्रित हुन्छ, भौतिकताले वास गर्दछ । मुर्खता सामिप्यता हुन्छ । जीवनको ध्येय छाँयामा पर्दछ । तर सत्य यहि हो, छाँया विस्तारै मुखतरित हुन्छ, यहि मुखतरित भएको पलले जीवनको अर्थ खोज्न बाध्य बनाइदिन्छ । त्यसपछि जीवन फिक्का र अमिलो लाग्दछ, यहि वेला जब आत्मिक सन्तुलन मिलाउन सकिदैन, जीवन बेपर्वाह वन्न थाल्दछ । निरर्थक जीवनमा त्यसवेला महशुस हुन थाल्दछ, मानवका दम्भहरू जीवनका शत्रुहरू हुन्, जुन जीवनका हरेक पलमा पटाक्षेप भए । पात्र र वस्तु फरक भएता पनि ध्येय एउटै थियो ।













प्रतिक्रिया