
काठमाडौँ, ७ मंसिर । नेकपा एमालेका नेता निर्मल भट्टराईले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा नेता भट्टराई केन्द्रीय सदस्यको उम्मेदवारी दिएका हुन् ।
भट्टराई मंगलबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको जानकारी गराएका छन् ।
विज्ञप्तिमा आफूले वि. सं. २०३७ सालदेखि एमाले राजनीतिमा योगदान दिएको उल्लेख गर्दै दशौँ महाधिवेशनमा उम्मेदवारी दिएको बताएका छन् ।
यस्तो नेता भट्टराईद्वारा विज्ञप्ति:
म कक्षा ८मा अध्ययन गर्दैगर्दा २०३७ सालमा नेकपाका नेता कमरेड भानुभक्त ढकालको हातबाट अनेरास्ववियुको सदस्यता प्राप्त गरेदेखि निरन्तर रूपमा राजनीतिमा सकृय रहेको जानकारी गराउँदछु ।
मसँग एउटै कमिटीमा काम गरेका साथीहरू एमालेको पदाधिकारीमा कार्यरत रहेको र मैले एमालेमा सङ्गठित गरेका साथीहरू भटाभट पार्टी पदाधिकारीमा आफ्नो उम्मेद्वारी घोषणा गरिरहनु भएको छ । यो मेरा लागि गौरवको कुरा हो । मेरो राजनीतिक जीवनको महान उपलब्धि हो ।
एक पूर्णकालीन एमाले कार्यकर्ता हुनुको नाताले, मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद र संसारका विभिन्न राजनीतिक सिद्धान्तको एक विद्यार्थी हुनुको नाताले, पञ्चायती कालरात्रीमा भक्तपुरमा पार्टी विस्तार गर्दा वर्षौं जेलनेल पुलिसको कुटाइ तथा मण्डलेको आक्रमण भोगेको नाताले मैले पनि एमालेको आसन्न दशौं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेद्वारी दिने घोषणा गर्दछु ।
राजनीतिलाई देश सेवा गर्ने पवित्र थलो बनाउने, प्राप्तिभन्दा वलिदानलाई प्राथमिकता दिने, व्यक्तिगत स्वार्थलाई देश र पार्टीको अधिनस्थ राख्ने मेरो जीवन पद्दति हो । सबैले पढ्न सक्ने पारदर्शी सरल जीवन शैली र इमान्दारी मेरो जीवनको परम लक्ष हो ।
मलाई विजयी बनाउन पार्टी सम्पूर्ण नेतागण, महाधिवेशन प्रतिनिधि,प्रेस जगत् र मेरा हजारौं समर्थक र शुभचिन्तकले सदाशयता र सकृयता देखाउनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
निर्मल भट्टराई
एमाले दशौं महाधिवेशन प्रतिनिधि
भक्तपुर क्षेत्र नं २












प्रतिक्रिया