९ कार्तिक २०८३, सोमबार

म्याग्दीमा ६ वर्षमा भूकम्पले भत्किएका ७५५ घर पुनर्निर्माण

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ५ मंसिर । ६ वर्षअघिको भूकम्पका कारण भत्किएका म्याग्दीका ७५५ निजी आवासको पुनर्निर्माण सकिएको छ ।

विसं २०७२ को भूकम्पका कारण भत्किएका घर पुनर्निर्माणका लागि सम्झौता गरेका ७६.५७ प्रतिशत लाभग्राहीले अन्तिम तथा तेस्रो किस्ता अनुदान लगेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) एकाइ म्याग्दीले जनाएको छ ।

आयोजनाका प्रमुख वीरबल सुनारले पहिलो किस्ता लगेका ९८६ मध्ये हालसम्म ७५५ जनाले निजी आवास पुनर्निर्माण सकेकाे जानकारी दिए । ‘एक हजार ६५ लाभग्राही पहिचान भएकामा ७९ जनाले सम्झौता नै गर्नुभएन’, उनले भने, ‘एक सय ८७ लाभग्राही अझसम्म दोस्रो किस्ता अनुदान लिन आउनुभएको छैन ।’

यही मङ्सिरभित्र घर पुनर्निर्माण सकेर तेस्रो किस्ता अनुदान लिन नआउनेलाई लाभग्राहीको सूचीबाट हटाइने आयोजना प्रमुख सुनारले बताए । विसं २०७४ मङ्सिरदेखि म्याग्दीका हरेक स्थानीय तहमा प्राविधिक कर्मचारी खटाई घर पुनर्निर्माण सुरु गरिएको थियो ।

सम्झौतालगत्तै पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्तावापत डिपिसी गरेपछि रु एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत रु एक लाख अनुदान उपलब्ध गराउने कार्यविधि छ । दोस्रो किस्ता लगेर तेस्रो किस्ता लिने प्रक्रियामा रहेकाको सङ्ख्या २४ जना छ। पहिलो किस्ता लगेर घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिनै नआएकालाई ताकेता गरिएको छ ।

भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरिदका लागि अधिकतम थप रु दुई लाखका दरले उपलब्ध गराइएको छ । यसैगरी पिप्लेका एक जनाले पनि जग्गा खरिदका लागि अनुदान पाएका छन् ।

बेनी नगरपालिका–४ सिङ्गाका दुई परिवारलाई जिल्ला सहजीकरण समितिको निर्णयानुसार सार्वजनिक जग्गामा घर निर्माण गरी बसोबास गराइएको छ । बयासी जना प्रवलीकरण लाभग्राही भएकामा ४० जना लाभग्राही पुनर्निर्माणमा परिवर्तन भई घर पुनर्निर्माण गरेका छन् ।रासस