
दोलखा, ५ मंसिर । गर्गगोत्री आचार्य समाज नेपालको नयाँ नेतृत्वमा सुर्खेतका जयप्रकाश आचार्य निर्वाचित भएका छन् ।
समाजको केन्द्रीय कार्यालय रहेको तनहुँको देवघाटमा अवस्थित गर्गाश्रममा शनिबार सम्पन्न समाजको १५औं साधारणसभा तथा छैठौं अधिवेशनबाट जयप्रकाशको नेतृत्वमा ४९ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित भएको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा एकरत्न आचार्य (गैडाकोट), उपाध्यक्षमा चन्द्रकान्त आचार्य (कपिलवस्तु) र महिला उपाध्यक्षमा सुशीला आचार्य (प्युठान) निर्वाचित भएका छन् । त्यसैगरी समाजको सचिवमा बालकृष्ण आचार्य (चितवन), सह–सचिवमा जगनाथ आचार्य (दोलखा) तथा कोषाध्यक्षमा गोबिन्द आचार्य (चितवन) निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको पदाधिकारीमा एक जना, केन्द्रीय सदस्यमा पाँच जना र केन्द्रीय सल्लाहकारमा एक जनासहित दोलखाबाट ७ जनाले प्रतिनिधित्व पाएका छन् । दोलखाबाट पदाधिकारीमा जगनाथ आचार्य र सल्लाहकारमा पूर्वशिक्षक देवराज आचार्य चयन भएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरूमा लिलाप्रसाद आचार्य, मुक्तिराज आचार्य, दिनेश आचार्य, कवन आचार्य र ओमृकष्ण आचार्य निर्वाचित भएका छन् ।

पाँचौं अधिवेशनले घोषणा गरेको तीन सदस्यीय निर्वाचन मण्डलले हालै सम्पन्न छैठौं अधिवेशनमार्फत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । पाँचौं अधिवेशनले धर्मराज आचार्यको नेतृत्वमा हेमराज आचार्य र हरिप्रसाद आचार्य सदस्य रहेको निर्वाचनमण्डल घोषणा गरेको थियो ।
समाजका कार्यवाहक अध्यक्ष गोकर्णराज आचार्य (रूपन्देही)को सभापतित्व तथा उच्च अदालत राजविराज इजलाशका मुख्य न्यायाधीश डिल्लीराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले लेखा तथा अन्य संस्थागत प्रतिवेदनहरू छलफलसहित पारित गरेको छ । अधिवेशनमा गोविन्द आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
करिब २ हजार जना आजीवन सदस्य रहेको गर्गगोत्री आचार्य समाज नेपालको सञ्जाल देशव्यापी रूपमा फैलिएको समाजले जानकारी दिएको छ ।















प्रतिक्रिया