काठमाडौं, ५ मंसिर । माओवादी केन्द्रले अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
शनिबारदेखि देशका सबै वडामा शुरु भएको सम्मेलनमध्ये करिब ७० प्रतिशतमा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । माओवादी केन्द्रले वडा सम्मेलनमा विभाजित मनोविज्ञान र मानसिकता नराखी एकताबद्ध भएर लाग्न अपील गरेको थियो ।
पहिलोपटक पार्टीमा आन्तरिक निर्वाचनबाट नेतृत्व चुन्न पाउने, तर त्यसका लागि समूहगत नभई व्यक्तिगत रूपमा चुनावमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था माओवादी केन्द्रले गरेको थियो । वडा सम्मेलनमा अधिकांश स्थानमा शनिबार साँझसम्म कतै पनि निर्वाचन गर्नुपर्ने अवस्था नआएको आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए ।
आगामी ११ देखि १३ पुससम्मका लागि पार्टीको राष्ट्रिय सम्मेलनको मिति तय गरेको माओवादी केन्द्रले कार्यतालिकाअनुसार पहिलो चरणमा शनिबारदेखि वडा तहको सम्मेलन सुरु गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयबाट देशभर सम्मेलनको उद्घाटन गरेका थिए । साथै, अन्य नेताहरूले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पर्ने केही वडाहरूको उद्घाटन गरेका थिए ।
माओवादी केन्द्रले महानगरका वडा समिति ४१ सदस्यीय, उपमहानगरका वडा समिति ३१ सदस्यीय र नगर तथा गाउँपालिकाका वडा समिति २१ सदस्यीय बनाउने र टोल समिति १५ सदस्यीय तथा पार्टी सेल ११ सदस्यीय रहने व्यवस्था विधानमा गरेको छ ।
सबै समितिमा अधिवेशनबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी सबै सदस्य रहने व्यवस्था विधानमा छ ।
माओवादी केन्द्रले पार्टीको सेलदेखि केन्द्रसम्मको सम्मेलनका लागि निर्वाचन नियमावली, २०७८ र निर्वाचन आचारसंहिता, २०७८ पारित गरेको छ ।
निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार सात सय ४३ वडा, सात सय ५३ पालिका र सातवटै प्रदेशमा निर्वाचन समितिसमेत गठन गरेको छ ।











प्रतिक्रिया