
काठमाडौं, ४ मंसिर । आगामी १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आतिथ्यताका लागि नेपालका विभिन्न राजनीतिक दलहरुलाई निम्तो दिइएको छ ।
एमालेले हिजो शुक्रबार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नेपाल मजदुर किसान पार्टीलाई महाधिवेशनमा आतिथ्यताका लागि निम्तो दिएको छ । तर, एमालेबाटै विभाजनको बाटो रोजेर निर्माण भएको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई भने महाधिवेशनमा नबोलाउने निर्णय एमालेले गरेको छ ।
आखिर किन बोलाइएन नेकपा एस र उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ? धेरैको चासो र चिन्ता प्रकट भइरहेका छन् । कतिपयले त नेकपा एमालेले अतिथि बोलाउने क्रममा माधव नेपाललाई नबोलाएर राजनीतिक संस्कार तोडेको टिप्पणी समेत गरिरहेका छन् ।
यसैबीच नेकपा एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपाललाई नबोलाउनुको कारणबारे स्पष्ट पारेका छन् । उनका अनुसार नेकपा एसको गठन प्रक्रिया असंवैधानिक र अवैधानिक भएकाले सो पार्टीलाई एमालेले मान्यता नदिनाका साथै महाधिवेशनमा समेत नबोलाएको हो ।
‘हामीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई पनि निम्तो दिएका छौं, केही दललाई निम्तो दिने क्रम पनि चलिरहेको छ । तर, माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं,’ कार्यालय सचिव तामाङले भने, ‘हाम्रो यसमा प्रष्टै धारणा छ, माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ । अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनका लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ ।’
तर, माधव नेपालसँगै तत्कालीन नेकपामा समानान्तर गतिविधिमा संलग्न हुँदै अहिले माओवादी केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने निम्तो गरिएको उनले बताएका छन् । यद्यपि, प्रचण्ड आउने वा नआउने भनेर सन्देश पर्खिरहेको तामाङको भनाइ छ ।
उनले दाहाल महाधिवेशनमा आउने विश्वास व्यक्त गरेका छन् । साथै तामाङले आफ्नो पार्टीमा कालापानी, लिपुलेक र लिम्पियाधुराको जिल्लाबाट पनि महाधिवेशनमा प्रतिनिधित्व रहने समेत बताएका छन् ।















प्रतिक्रिया