
काठमाडौं, ३ मंसिर । नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि पार्टीले गरेको आव्हान अनुसार सङ्गठित सदस्य र शुभेच्छुकबाट रकम संकलनको क्रम जारी रहेको छ ।
एमालेले गत साता महाधिवेशनको लोगो सार्वजनिकसँगै सबै पार्टी संगठित सदस्यलाई बैंक खातामा न्यूनतम् रु १०० जम्मा गर्न आग्रह गरेको थियो । एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७००१००००११५९००१ नम्बरको चल्ती खातामा रु १०० जम्मा गर्न आग्रह गरेको हो ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले पार्टीको खातामा नम्बरमा पार्टी सबै सदस्यहरुले मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा रकम जम्मा गर्न अनुरोध गरेबमोजिम उत्साहजनकरुपमा संकलन भइरहेको जानकारी दिए ।
उनले पार्टीको महाधिवेशनमा कुनै चन्दा रसिद छापेर संकलन गर्र्नुका साटो आफ्नै सदस्यबाट स्वइच्छिकरुपमा रकम संकलन गर्नु उपयुक्त हुने लागेर अभियानका रुपमा यो काम शुरु गरिएको बताए ।
पार्टीको उक्त खातामा नजिकै भएको जुनसुकै बैंकबाट पैसा जम्मा गर्न सकिन्छ । यही मङ्सिर १०–१२ गतेसम्म चितवनमा हुने पार्टीको १०औँ महाधिवेशन हुँदैछ । महाधिवेशनमा देशभरका १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।
एमालेमा आठ लाखभन्दा धेरै पार्टी सदस्य रहेका छन् । ती सदस्यहरुबाट रू. १०० उठाउँदा पनि रू. ७० लाख ३० हजार रकम उठ्नेछ ।















प्रतिक्रिया