
काठमाडौँ, १२ कात्तिक । नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेलले समग्र न्यायपालिकाभित्र देखिएको विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिए पनि आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले आफूहरु समग्र न्यायपालिकाको सुधारको पक्षमा रहेको बताए । आफ्नो पार्टीले अहिले न्यायालयभित्र देखिएको विवादलाई ‘वाचडग’को रुपमा हेरिरहेको पनि उनले सुनाए ।
उनले भने, ‘नेकपा एमालेले वाचडगको रुपमा हेरिरहेको छ । माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरौं । त्यसमा कहाँ कानून बनाउनुपर्छ, हामी तयार छौं ।’ उनले सत्तापक्षले संसद्लाई आफ्नो स्वार्थअनुसार चलाएको टिप्पणीसमेत गरे ।
‘अहिले संसद्को अधिवेशन अन्त्य गरिएको छ, कुनै पनि संसद्को बैठक कार्यव्यवस्था परामर्श समितिको बैठकको सहमतिअनुसार चल्नुपर्ने हो,’ उनले भने, ‘तर परामर्श समितिको बैठक बसेन । पेलेर जाने हिसाबले संसद् चल्न थाल्यो । यो गलत हो ।’












प्रतिक्रिया