काठमाडौं । औषधिपसलमा किन्न पाइने भएपछि राजधानीलगायत ठूला सहरमा लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग बढ्दै गएको छ। रोगअनुसार मात्रा मिलाएर बिरामीलाई दिइने औषधि दुर्व्यवसनीले नसाका रूपमा लिने गरेका छन्।
औषधि व्यवस्था विभागको अध्ययनअनुसार विभिन्न २२ प्रकारका लागू तथा मनोद्दीपक औषधिको व्यापक दुरुपयोग भइरहेको छ। यस्ता औषधि शल्यक्रियाका लागि बेहोस बनाउँदा, मानसिक रोगका लागि र बढी पीडा भएका बिरामीलाई आवश्यक पर्छ।
कोडिन, डेक्स्ट्रोप्रोपोजेक्सिफिन, मेथाडोन, मफ्रिनलगायत आठ प्रकारका लागूऔषध र अलप्रजोलम, बुफ्रेनोरफिन, डाइजेपामलगायत १४ प्रकारका मनोद्दीपक औषधिको दुरुपयोग हुने गरेको छ । बिक्रेताले यस्ता औषधि चिकित्सकको सिफारिसबिना र रेकर्ड नराखी बिक्री गरिरहेका छन्।
लागू तथा मनोद्दीपक औषधि बिक्री गर्दा मिति, सिफारिस गर्ने चिकित्सकको नाम, ब्याच नम्बर, उत्पादक कम्पनीको नाम, मात्रा, बिक्रेता र बिरामीको नाम, रोगको प्रकृति, औषधि लिन आएको व्यक्तिबारे स्पष्ट खुलाउनुपर्ने व्यवस्था छ। तर धेरैजसो औषधि पसलेले मनपरी रूपमा त्यस्ता औषधि बिक्री गरिरहेका छन्।
औषधि व्यवस्था विभागले यस्ता औषधिको दुरुपयोग भइरहेको प्रमाण पटकपटक फेला पारे पनि कारबाही गर्न सकेको छैन। विभागले जथाभाबी त्यस्ता औषधि बेच्ने पसलेलाई सचेतमात्रै गराएर छाड्ने गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया