२९ आश्विन २०८३, बिहिबार

अमेरिकाको जर्सी सिटीमा दोस्रो पटक नेपाली झण्डा फहरियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका मेयर स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोश्रो पटक ‘नेपालको झण्डा फहराउने दिवस’ आयोजना गरिएको छ ।

सेप्टेम्वर २० तारिख, सोमबार बिहान आयोजित झण्डोत्तोलन समारोहमा नेपालको राष्ट्रगानको गुन्जाहटकासाथ सिटी हल भवनको माथिल्लो तल्लामा अमेरिकाको झण्डा संगसंगै नेपाली झण्डा फहराइएको छ ।

ऐतिहासिक समारोहमा मेयर फुलपकासाथै काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रशाद गौतम, निवर्तमान काउन्सिल प्रेसिडेंट एवं काउन्सिलम्यान एट लार्ज रोलाण्डो लाभारो, जर्सी सिटी र नेपालको लागि सिस्टर सिटी इमिसरी (विशेषदूत) र जर्सी सिटीको रोजगारी र तालिमबोर्ड सदस्य डा. विष्णुमाया परियारका साथै नेपाली अमेरिकी विशिष्ट व्यक्तित्वहरू र नेपाली अमेरिकी समुदायको उपस्थितिमा सम्पन्न भएको थियो ।

अमेरिकी भूमिमा यसरी नेपाली झण्डाको झण्डोत्तोलन र नेपालको राष्ट्रगान संगसंगै खुल्ला आकासमा गुन्जिंदा उपस्थित नेपालीहरूले गुजबम्प महशुस गरेका थिए भने गर्वले छाती ढक्क फुलाउँदै शीर उँचो बनाएका थिए ।

यसअघि, सन् २०१७ को जुन ३० तारिख जर्सी सिटी सहर आफ्नो सिटी हल भवनको ताज छानामा नेपालको झण्डा फहराउने विश्वमै पहिलो अमेरिकि शहर बनेको थियो ।

जर्सी सिटी सहरकी तत्कालिन डाईभर्सिटी र ईन्क्लुसन वोर्डकी सल्लाहकार डा. विष्णुमाया परियारको पहलमा उक्त ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो ।

यो वर्ष सन् २०२१ को दोश्रो ऐतिहासिक झण्डोत्तोलन समारोह पनि डा. परियारकै पहलमा आयोजना भएको छ ।

समारोहमा मेयर स्टिभन फुलपलाई नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली ढाका टोपी, परम्परागत आँखी झ्यालको प्रतिलिपि, विश्वको अग्लो शिखर अंकित परम्परागत नेपाली झोला उपहार स्वरूप प्रदान गर्दै नेपाल भ्रमणका लागि निम्तो दिएका थिए ।

मेयर स्टिभन फुलपले नेपाली अमेरिकी समुदाय र नेपाली महावाणिज्यदूतावासलाई प्रोक्लेमेसन पत्रद्वारा मुक्तकंठले प्रसंशा गर्दै सम्मान गरेका थिए ।

सोही समारोहमा नेपाली कार्यवाहक महावाणिज्यदूत गौतमले सामाजिक अभियन्ता डा. परियारलाई परम्परागत दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

समारोहमा हेल्थकेयर क्षेत्रमा कार्यरत नेपाली अमेरिकी नारीहरूलाई विशेष कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

समारोहका वक्ताहरूमा मेयर स्टिभन फुलप, काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यान, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, निवर्तमान काउन्सिल प्रेसिडेंट एवं काउन्सिलम्यानएट लार्ज रोलाण्डो लाभारो, सिस्टर सिटी ईमिसरी डा. विष्णुमाया परियार र वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले सम्वोधन गरेका थिए ।

वक्ताहरूले नेपाल र अमेरिका विचको सौहाद्रता र भाईचारा सम्वन्धको चर्चा गर्दै जर्सी सिटी सहरले नेपाली पहिचानलाई उजागर गरेको उल्लेख गरेका थिए ।

समारोहमा कलाकार एवं वुमन फर कजकी अध्यक्ष कविना महर्जनले नेपाली राष्ट्रिय गीतमा मनमोहक नृत्याभिनय प्रस्तुत गरेकी थिइन् । युवा नेतृ मेघा रौनियारले समारोहको सन्चालन गरेकी थिइन् ।

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिकाबीच सन् २०१९ को जनवरी २४ तारिख सिस्टर सिटी बनाउन दुई मेयरद्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

यी दुई शहर र गाउँपालिकाबीच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन जर्सी सिटी काउन्सिलद्वारा सन् २०१८ को डिसेम्वर १९ तारिख ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको थियो ।

जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहरबीचकी ईमिसरी (विशेषदूत) को रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यी दुई शहरबीच सिस्टर सिटी बनाउन सफल भएको थियो ।

अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो ।

यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरूको लागि नेपालमा गएको महाभूकम्पले उनीहरूको नेपालमा रहेका परिवारमा पर्न गएको क्षतिको निम्ति राहत पु¥याउन टिपिएस सुविधा दिलाउनेसम्बन्धी काउन्सिल रिजोलुसन पारित गरिएको थियो ।

टिपिएस रिजोलुसन सन् २०१५ र २०१८ मा पास गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो ।