९ कार्तिक २०८३, सोमबार

पहिरोका कारण पासाङल्हामु राजमार्ग बन्द

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रसुवा, ७ भदौ । भारी वर्षासँगै आएको पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार धुन्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो ।

नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय राजमार्ग भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल कदमी शुरू भइरहेको बताइएको छ ।

राजमार्ग अवरूद्ध हुँदा दर्जनौ सवारीसाधन बीच बाटामै अलपत्र परेका छन् । उत्तरी रसुवामा आकस्मिक रूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुन्चे ल्याउन समस्या उत्पन्न भएको छ ।

आकस्मिक पहिरो पन्छाउने प्रयोजनका लागि सडक विभागले धुन्चेमा राखिएको लोडर सञ्चालन गर्न अपरेटर नहुँदा पहिरो पन्छाउन समस्या उत्पन्न भएको ट्राफिक प्रहरीले जनाएको छ ।

धुन्चेमा उपकरण भएको र चालक भने काठमाडौँतर्फ गएको ट्राफिक प्रहरीको भनाइ छ ।

पछिल्लो जानकारीअनुसार स्याफ्रुबेँसीमा रहेका एक सडक प्राविधिकले स्थलगत निरीक्षण गरी मङ्गलबारसम्म राजमार्ग सञ्चालन गराउने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । राजमार्ग खोल्नका लागि स्याफ्रुबेँसीतर्फ रहेका उपकरण ल्याउने तयारी भइरहेको बताइएको छ । –रासस