
-एसपी उप्रेती
काठमाडौँ, ५ भदौ । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपाललाई केन्द्रमा राखी विश्वभरी विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
समाजले आफ्नो स्थापनाको निकै छोटो समयमा नै विभिन्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न सफल भएको छ ।
चाहे त्यो साहित्यको क्षेत्रमा होस् वा समाजमा आवश्यकीय सहयोग प्रदान किन नहोस् अन्तर्राष्ट्रिय नेपाली समाजले सक्रिय रुपमा आफ्नो उपस्थिति देखाएको छ ।
इन्सले स्थापनालगत्तै पहिलो लाइभ वेबिनार कार्यक्रमको रुपमा स्ट्रेस म्यानजमेन्ट ड्युरिङ कोभिड १९ आयोजना गरेको थियो ।

त्यस्तै, इन्सले केन्द्रीय समितिअन्तर्गत विभिन्न देशमा राष्ट्रिय समिति तथा उपसमिति निर्माण गरेको छ ।
हालसम्म मलेशिया, जर्मनी, स्पेन, इजरायल, नेपाल, पोर्चुगोल लगायत देशहरुमा राष्ट्रिय कार्यसमिति निर्माण गरेर गतिविधि सञ्चालन गरिरहेको छ ।
समाजले महिलाहरुको उत्थान तथा सशक्तिकरण तथा विकासका लागि महिला समिति तथा तथा भाषा साहित्य समिति उपसमितिका रुपमा घोषणा गरेको छ ।
महिला समितिले महिला दिवस तथा आमा दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ । त्यस्तै, समाजले अन्तर्राष्ट्रियस्तरका विज्ञ अतिथिहरुसहित महिला सशक्तिकरणबारे ऐतिहासिक कार्यक्रम सम्पन्न गरेको छ ।



इन्सले विश्व नेपाली साहित्य सम्मेलन आयोजना गरेको छ जहाँ विश्वभरका नेपाली साहित्यकार तथा मातृभाषा साहित्यकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस्तै, भाषा तथा साहित्यको आयोजनामा भानु जयन्तीका अवसरमा भर्चुअल माध्यमबाट साहित्यिक कार्यक्रम गरेको छ ।


समाजले दोस्रो लकडाउनको अवस्थामा देशका विभिन्न स्थानमा अक्सिजन कन्सन्ट्रेटर तथा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
समाजले नेपाल पत्रकार महासंघलाई कोरोनाका कारण समस्यामा परेका पत्रकारहरुलाई ४० हजार रुपैयाँ बरारबरको खाद्यन्न दिएको छ ।

त्यस्तै, जाजरकोट जिल्ला अस्पतालमा एक थान अक्सिजन कन्सन्ट्रेटरसहित कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

इन्सले १ नं. प्रदेशका सुनसरी जिल्लामा कोरोनाका कारण श्रम नपाएपछि परेको खाद्यन्न संकटमा राहत ५० घरपरिवार राहत वितरण गरेको छ भने उदयपुर जिल्ला अस्पतालमा एउटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । त्यसैगरी, उदयपुरमै खाद्यन्न संकट व्यहोराका केही परिवारलाई समेत राहत वितरण गरेको छ ।

कञ्चनपुर जिल्लामा कोरोनाका कारण समस्यामा परेका ६५ घरपरिवारलाई खाद्यन्न राहत उपलब्ध गराएको छ ।

त्यस्तै, काठमाडौँको अनाथ आश्रम तथा सुकुम्बासी बस्तीका ४० परिवारलाई पनि संस्थाले खाद्यन्न वितरण गरेको छ ।
समाजले सिन्धुपाल्चोक र मनाङमा आएको बाढीका कारण प्रभावित बनेकाहरुलाई करिब एक लाख बराबरको सहयोग गरेको छ ।

यस्तै, ओखलढुंगामा ५० परिवारलाई खाद्यन्न राहत दिइएको छ । संखुवासभामा आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको छ भने बैतडीमा अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री उपलब्ध गराइएको संस्थाका नेपाल कार्य समितिका अध्यक्ष चन्द्रकुमार फुयाँलले जनाएका छन् ।


त्यस्तै, प्रदेश दुइको सर्लाहीको लालबन्दीको स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्रीका लागि संस्थाले सहयोग गरेको फुयाँलले बताए ।
यसरी समाजले हालसम्म ३०० भन्दा बढी समस्यामा परेका परिवारलाई खाद्यन्न राहत वितरण गरेको अध्यक्षले फुयाँलले बताए ।
संस्थाले राहत वितरणदेखि साहित्यक लगायत सामाजिक सहयोगका गतिविधि स्थापना कालदेखि नै सञ्चालन गरेको इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले बताएका छन् ।
समाजले आफ्नो सांगठनिक विस्तार तथा सेवा समानान्तर तवरले अघि बढाइरहेको घिमिरेको भनाइ छ ।















प्रतिक्रिया