१८ कार्तिक २०८३, बुधबार

न्हुजः पुस्तकालयको ३७ औँ वार्षिकी रक्तदान कार्यक्रम आयोजना

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । न्हुजः पुस्तकालयको ३७ औं वार्षिकोत्सवको उपलक्ष्यमा न्हुजः खलः (नयाँ किरण समूह), टोखाले मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ५३ जना महानुभावहरुले रक्तदान गरेका छन् ।

कोभिड १९ को दोश्रो लहरका कारण देशभर मानव रगतको माग उच्च रहेको तर रक्तदान कार्यक्रमहरु न्यून आयोजना भइरहेको वर्तमान परिप्रेक्ष्यमा यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो । त्यसो त संस्थाले आफ्नो स्थापनाकाल २०४१ सालदेखि हरेक भाद्र १ गते अविछिन्न रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

वार्षिकोत्सव दिवसको उपलक्ष्यमा संस्थाले टोखामा सदियौँ कालदेखि चल्दै आएको चतुर्माश भजनमा सरिक हुने ५ दाफा खलः र १ भजन खलः तथा गुँला पर्वमा सरिक हुने धाँ खलःलाई जनही ३५० किलो चामल सहयोग गरेको छ ।

टोखामा पिगं द्यः दाफा खलः, ईन्द्रायणी दाफा खलः, चण्डेश्वरी दाफा खलः, जोरभिमसेन दाफा खलः र सपनतीर्थ दाफा खलः गरी ५ दाफा खलः, चण्डेश्वरी भजन खलः र सपनतीर्थ धाँ खलः चतुर्माश भजन र यससँग सम्बन्धित संस्कृति अगाडि बढाउन क्रियाशील छन् ।

साउन शुक्ल प्रतिपदादेखि ४ महिना निरन्तर भजन गर्ने यी खलःहरुले यस समयमा पर्ने विभिन्न जात्रा, पर्व तथा चाडहरुको संस्कृति पनि सञ्चालन गर्ने गर्दछन् ।

यी संस्कृति तथा संस्कार धान्नका लागि स्थानीय बासिन्दाहरुले सहयोग स्वरुप यी खलःहरुलाई थालमा राखेर चामल सहयोग गर्ने चलन पहिल्यै देखि चल्दै आएको छ ।

यही संस्कारलाई जीवित तुल्याउन तथा संस्कृति संरक्षणमा कृयाशील यी संस्थाहरुको क्रियाशील तुल्याउनका लागि संस्थाबाट सहयोग गरेको हो ।

साथै, आजै संस्थाले पुस्तकालय परिसरमा निःशुल्क वाईफाई जोन समेत शुभारम्भ गरेको छ । ६० एमविपिएस वेन्डविथको यो वाईफाई एकपटकमा ५० वटा डिभाइसहरुमा चलाउन मिल्ने गरी व्यवस्था गरिएको छ ।