४ मंसिर २०८३, शुक्रबार

रेलवे कम्पनी महाप्रबन्धक भट्टराईले दिए राजीनामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ साउन । सरकारले स्पष्टीकरण सोधेपछि नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

बुधबार भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । पत्रमा उनले मन्त्रिपरिषद्को गत १९ गतेको निर्णयअनुसार विभिन्न बहाना बनाई पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषयहरु जोडिएको उल्लेख गरेका छन् । भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरणको जवाफ दिएका थिएनन् ।

‘नागरिकको संविधान प्रदत्त मौलिक हकअन्तर्गतको वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरुको आदेश र निर्देशनमा मलाई सफाई पेश गर्ने सम्बन्धमा लेखिएको मन्त्रालयको प.सं. स १.११/०७८/७९ च. नं. ३ मिति २०७८/०४/२२ को पत्र मिति २०७८/०४/२४ मा प्राप्त भई व्यहोरा अवगत भयो’, उनले भनेका छन्, ‘मैले आजकै मितिदेखि लागु हुने गरी नेपाल रेलवे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजिनामा दिएको छु ।’

रेलवे कम्पनीको महाप्रबन्धक पदमा नियुक्ति लिएको दिनदेखि इमानदारितापूर्वक निरन्तर कम्पनीको काममा लागेर मृत प्रायः अवस्थामा रहेको नेपाल रेलवे कम्पनी लिमिटेडलाई पुनर्जीवन दिएको भट्टराईले उल्लेख गरेका छन् ।