धनगढी, २७ साउन । कैलाली जिल्लामा झण्डै आधा किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित तीन जना पक्राउ गरेको हो ।
शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
उनीहरूको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको छ ।
अत्तरियास्थित सडकखण्डमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसलाई चेकजाँच गर्दा उक्त बसका कण्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद गरिएको थियो ।
बसमा सवार राजु बिकको साथबाट सुनको बाला र सिक्री गरी जम्मा ३४९.८७ ग्राम अवैध सुन बरामद गरिएको हो । उनको साथबाट नगहद ६ हजार ९ सय बरामद गरिएको छ ।
उनीहरूसँग सोधपुछ गर्ने क्रममा सुन अत्तरियाका व्यवसायी समिर सिजापतीको खुलेपछि सिजापतीलाई पनि पक्राउ गरिएको हो ।
सिजापतीको खानतलासी गर्दा उनको साथबाट ४९।९५ ग्राम अवैध सुनको बाला र १६ हजार तीन सय नगद बरामद भएको प्रहरीले जनाएको छ ।
भवानी घिमिरे र समिर सिजापतीको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको बिबरण फरक रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















प्रतिक्रिया