२९ आश्विन २०८३, बिहिबार

भूपु गोर्खाले थाले आमरण अनशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ साउन । समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् ।

विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत ज्ञानराज राईले बताए । नेपाल सरकारले शनिबार गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राईलाई पत्र लेखी बेलायत सरकारसँग कूटनीतिक तवरबाट संवाद थाली समस्या समाधान गर्ने कुराको अवगत गराउँदै भोक हडताल रोक्न अनुरोध गरेको थियो । तर उक्त कुरालाई आन्दोलनरत समूहले अस्वीकार गरेको छ ।

बेलायत सरकारले वार्ताका लागि मिति तोकेर आधिकारिक पत्र नपठाएसम्म भोक हडताल कायम नै रहने सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक राईले बताए । भोक हडतालमा भूपु सैनिक ज्ञानराज, पुष्पा घले र धनबहादुर गुरुङ बस्नेका छन् । बेलायतका विभिन्न नेपाली संस्था र बेलायती नागरिकले समेत आफ्ना कार्यक्रमको पक्षमा ऐक्यबद्धता देखाएको संयोजक राईले बताए ।

गत हप्ता रिले अनशन चलिरहेकै बेला भूपु गोर्खाको हकहितका लागि खोलिएका नेपाली सङ्घसंस्थाका प्रतिनिधिले लन्डनस्थित नेपाली राजदूतावास पुगी राजदूत लोकदर्शन रेग्मीलाई भेटेर अनशनबारे जानकारी गराएका थिए ।