काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।
सोमबार बिहान फेसबुकमा स्टाटस लेखेर पौडेलले देउवाप्रति असन्तुष्टि जनाएका हुन् ।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ तर अहिलेसम्म क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान हुन सकेका छैनन् ।
शीर्ष नेताले विवाद समाधान गर्ने भने पनि सभापति देउवाले समय नदिएको आरोप पौडेलले लगाएका छन् । देउवा प्रधानमन्त्री भएपछि महाधिवेशनमा ध्यान नदिएको पौडेलले आरोप लगाएका छन् ।
कांग्रेसको महाधिवेशन विधानअनुसार चार वर्षको अन्तरालमा हुनुपर्छ । २०७२ सालमा १३ औं महाधिवेशन भएको थियो ।
सभापति देउवाले नियमित कार्यकाल सकेर विधानअनुसार नै विशेष परिस्थितिका लागि भन्दै एक वर्ष म्याद थपेका थिए । त्यो समयमा पनि महाधिवेशन हुन सकेन। देउवाले संविधानअनुसार छ महिना म्याद थप गरेकोमा भदौ २३ मा सकिँदैछ ।
वरिष्ठ नेता पौडेलले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । उनले महाधिवेशन नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएकोमा कडा आलोचना गरेका हुन् ।
पार्टीको म्याद थप गर्न कांग्रेसले निर्वाचन आयोगसँग परामर्श गरिरहेका खबर आइरहेका छन्। यसबारे संस्थापन पक्षले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो’, पौडेलले भने, ‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ ।’
महाधिवेशन गर्न नसक्नुमा सभापति देउवाको चरम असफलता र लापरवाही भएको पौडेलको आरोप छ । उनले भनेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरू के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’















प्रतिक्रिया