काठमाडौं, २२ साउन । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरूले आजदेखि दोस्रो डोज पाउने भएका छन् ।
भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिनेछ ।
दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र अनलाइन फारम दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।
डा.खड्काका अनुसार असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाएका नागरिक १ लाख ६५ हजार छन् ।
असार २९ गतेदेखि ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।











प्रतिक्रिया