
काठमाडौं, १८ साउन । पार्टीभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्न सकस झेलिरहेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक नै स्थगित भएको छ ।
आज सोमबार दिउँसो ३ बजे बस्न लागेको बैठक स्थगित भएको हो । पार्टी कार्यालय पेरिस डाँडामा बस्ने भनिएको उक्त बैठक तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
विशेषत सोमबार बस्ने बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली टुंङ्याउने भनिएको थियो, तर आन्तरिक कुरा नमिलेकाले बैठक स्थगित गरिएको बुझिएको छ ।
मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि आधिकारिक निर्णय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समस्या भइरहेको स्रोतको भनाइ छ । माओवादी केन्द्रले बढीमा सात मन्त्रालय पाउने सम्भावना छ । तर, जनार्दन शर्मा र पम्फा भुसालको नाम सिफारिस गर्दादेखि नै पार्टी भित्र विवाद उत्पन्न भएको थियो ।
सत्तारुढ गठबन्धनका दलहरुभित्र मन्त्री छान्ने विषयमा कुरा नमिल्दा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
मन्त्रीहरुको टुंगो लगाउने विषयमा नेपाली कांग्रेसमा पनि सकस नै परिरहेको छ ।















प्रतिक्रिया