
काठमाडौँ, १६ साउन । तुइनबाट महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएको घटनाबारे छानविन गर्न ३ वटा सुरक्षा निकायका अधिकारीहरु घटनास्थलमा गएका छन् ।
भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउँदा भएको उक्त घटनाबारे सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाबारेमा भारतीय पक्षसँग जवाफ मागेर आवश्यक प्रक्रिया अघि बढाउन समेत प्रशासनले आग्रह गरेको छ ।
साउन १५ मा भारतीय एसएसबीका जवानले तुइन काटिदिएपछि ब्यास गाउँपालिका वडा नम्बर–२ खाङदाङ मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
धामीको अवस्था अझै अज्ञात छ । प्रशासनले दुई देशबीचको सम्बन्धमा आँच आउने किसिमका सूचना तथा समाचार प्रसारण प्रकाशन नगर्न पनि आग्रह गरेको छ ।













प्रतिक्रिया