२९ आश्विन २०८३, बिहिबार

‘ताज विषाणु’विरुद्धको खोप लगाउँदा उपहारै–उपहार !

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डा. रवीन्द्र समीर/जनस्वास्थ्य विज्ञ

कोरोना भाइरस सुन्दा सुन्दा वाक्कदिक्क लागेको थियो ।

त्यसैले मैले यसको नेपाली नाम ताज बिषाणु राखेको छु । कोरोना ग्रिकको क्राउन शब्दबाट लिइएको हो । जसको अर्थ ताज, मुकुट, राजमुकुट आदि हुन्छ ।

आँखाले देख्न नसक्ने स्यानो भाइरसले संसारमा तेस्रो विश्वयुद्ध मच्च्यायो । संसारलाई नै युद्धबन्दी बनायो । एक दिन नेपाल बन्द गर्दा अरबौं क्षति हुने गणित पढेको मैले २ वर्ष संसार बन्द हुँदाको हिसाब निकाल्दै थिएँ ।

रेडियो, टेलिभिजन, पत्रपत्रिकादेखि माइकिङ मेरा आँखा र कानमा ठोकिए । रेडियोले फुक्दै थियो– सरकारले हरेक किराना पसल, कफी सप, रेस्टुराँ, स्कुल, कलेज, मन्दिर, सरकारी भवन, चोक तथा घरघरमा खोप पुर्याएको छ । कोभिड खोप लगाउन छुट्नु भएको भए आजै खोप लगाउनुहोस् अनि आकर्षक उपहार प्राप्त गर्नुहोस् ।

टेलिभिजनले खोकिरहेको थियो– हरेक पसल, खाजा घर, रेस्टुराँ, पत्रिका पसल, कपडा पसल, सपिङ मल, मेडिकल लगायत स्थानमा खोप उपलब्ध छ ।

सलमा खोप लगाउनेलाई एक बोरा चामल, रेस्टुराँमा खोप लगाउने व्यक्तिलाई मःमः, पिज्जा र चिकेन चिल्ली, मन्दिर तथा खोला किनारामा खोप लगाउने व्यक्तिलाई दुई खिल्ली गाँजा, सपिङ मलमा खोप लगाउने व्यक्तिलाई हरेक सामानमा १० प्रतिशत छूट, कोल्ड स्टोरमा खोप लगाउने व्यक्तिलाई २ किलो मासु, स्कुल तथा कलेजमा खोप लगाउने व्यक्तिलाई तीन महिनाको ट्युशन फ्री, रंगशालामा खोप लगाउने व्यक्तिलाई फुटवल र क्रिकेटका सामान, वृद्धाश्रममा खोप लगाउने ज्येष्ठ नागरिकलाई पाँच किलो फलफूल र न्यानो ब्ल्याङ्केट, मेडिकलमा खोप लगाउने व्यक्तिलाई परिवार नियोजन सेवा तथा अस्पतालमा खोप लगाउने व्यक्तिलाई होलबोडी चेकअप प्रदान गरिने छ ।

खोप लगाउने व्यक्तिलाई आफ्नो इच्छा अनुसारको उपहार दिने कार्य भइरहेको थियो । बसमा खोप लगाउने व्यक्तिले निःशुल्क यात्रा गरिरहेका थिए, जहाजमा खोप लगाउने व्यक्ति निःशुल्क उडिरहेका थिए, ट्याक्सीमा खोप लगाउने व्यक्तिले चिसो पेय चुस्दै घुमिरहेका थिए ।

सरकारले भन्दैथियो– हामीले एक वर्षको बजेट खोप र उपहारमा लगानी गरेका छौं । अर्को वर्षदेखि विकासमा मात्र खर्च गर्नेछौं । यो वर्ष खोप लगाउनेलाई विभिन्न उपहार प्रदान गरिने छ । यो वर्ष खोप नलगाउने व्यक्तिलाई अर्को वर्ष प्रति डोज एक लाख रूपैयाँ मूल्य पर्ने छ । खोप नलगाएका व्यक्तिलाई कुनै पनि सेवा प्रदान गरिने छैन ।

डा. शर्माले जाजरकोटका गाउँमा भन्दै थिए– खोप लगाउनुभयो भने एक क्विन्टल चामल, गोल्डस्टार जुत्ता, नर्थफेस ज्याकेट र १० किलो तराइको माल्दा आँप प्राप्त गर्नुहुने छ ।

डा. श्रेष्ठले तराइका भित्री गाउँमा भन्दै थिए– यो यार्सागुम्बालाई लाखौँ रुपियाँ पर्छ । खोप लगाउनु भयो भने सित्तैमा पाइन्छ । त्यति मात्र हैन, इच्छा अनुसारका घरायसी सामान, पढ्ने छात्रवृत्ति तथा सरकारी जागिर पाइन्छ ।

डा. यादवले पहाडी गाउँमा भन्दै थिए– कोभिड खोप लगाउने व्यक्तिलाई सोलार जडान वा ६० इन्चको टेलिभिजन निःशुल्क दिइने छ ।

भोजप्रसादले फोनमा भन्दै थिए– ए आइतराम ! सर्खारले फाइजर, मोडेर्ना, जोन्सन, स्पुतनिक, एस्ट्रेजेनेका, भेरोसेल, सिनोभ्याक, कोभ्याक्सिन नाम गरेका धेरै खोप ल्याएको छ । मैले त एस्ट्रेजेनेका लगाउने भएँ, तिमीले कुन लगाउने नि ?

ज्योतिषको घरमा भीड थियो । कुनै ज्योतिषले हात तथा कुनै ज्योतिषले चिना हेरेर भन्दै थिए– तपाइँको राशी मिथुन भएकाले मोडेर्ना लगाउनुहोला । अनि तपाइँको ग्रहमा शनि बलियो भएकाले स्पुतनिक लगाउनुहोला । तपाइँको नाम फर्सुराम भएकोले फाइजर लगाउनुहोला । तपाइँकी छोरी अलि मोर्डर्न भएकीले मोडेर्ना फलिफाप हुन्छ । ज्योतीलाई जोन्सन, भोजप्रसादलाई भेरोसिल, सिनोभ्याकमा पहिला दुई अक्षर अशुभ भएकाले नलगाऔं क्यारे !

आगन्तुकले सोध्दै थिए– खोप लगाउन कहाँ जाने ?

ज्योतिषले भन्दै थिए– तल्लो कोठामा नर्स नानी बसेका छन् । चिसिक्क खोप लगाएर अनि पेटभरी प्रसाद खाएर जानुहोला ।

ह्यारीले भन्यो– सोम ! अहिले कहाँ ?

म माउन्टेन कफीसपमा छु । आउ न यार ! कोभिडको खोप लगायो भने फ्रीमा बुटी र बियर पाइने रहेछ ।

सीमाले भनी– कता हो उषा ?

उषाले भनी– ब्युटीपार्लरमा छु । खोप लगाए कपाल स्ट्रेट गर्ने अफर रहेछ यहाँ ।

सीमाले भनी– म पुस्तकालयमा छु । खोप लगाए १ वर्ष निःशुल्क सदस्यता पाइने रहेछ यार !

स्कुलमा साना नानीबाबुलाई ललिपप, आइसक्रिम, पिज्जा तथा जुस दिएर खोप लगाउने कार्यक्रम चलेको थियो ।

छोराले सोध्दै थियो– बा ! अन्तिम इच्छा के छ ?
बाले भन्दै थिए– मर्ने बेलामा कोभिड खोप लगाउन पाए भगवानका फ्रेममा मेरा सयौं फोटो राख्ने अफर छ । लौन ! एउटा खोप लगाइदे !

बजारमा माइकिङ भइरहेको थियो– खोप लगाउने व्यक्तिलाई हात खाली नहुने चिठ्ठा ! पहिलो उपहार– ८ आना जग्गामा बनेको अढाइतले घर, दोस्रो उपहार १ करोड नगद, तेस्रो पुरस्कार टोयोटा कार, सान्त्वना पुरस्कार १०० जनालाई मोटरसाइकल अनि फ्रीज, दराज, सोफा, वासिङ मेशिन, माइक्रोओभन, टेलिभिजन, मोबाइल सेट ।

एफएमले भन्दै थियो– जनसंख्याको तुलनामा दश गुणा बढी खोप आएकाले हामीले खोप आयातमा प्रतिबन्ध लगाएका छौं ।

स्वास्थ्यमन्त्रीले घोषणा गरे– नेपालमा ९५ प्रतिशतले खोप प्राप्त गर्नुभयो । खोप लगाउन छुटेको व्यक्तिबारे जानकारी दिनेलाई सरकारले दश लाख इनाम दिने छ । साथै ती छुटेका व्यक्तिलाई सरकारले रोजगारी दिने छ ।

एक वर्षमा खोप कार्यक्रम शतप्रतिशत सफल भयो । नेपालको खोप रणनीतिबारे संसारमा चर्चा भइरहेको थियो । खोप कार्यक्रम हेर्नका लागि भ्याक्सिन टुरिजम निकै बढेको थियो । एयरपोर्ट तथा सीमानामा खोप लगाएर मात्र नेपाल आउन पाइन्थ्यो ।

सडक, गल्ली, चोक, गाउँ, डाँडा, हिमाल चारैतिर पर्यटकको लर्को लागेको थियो । तीन करोड जनसंख्या भएको नेपालमा यो वर्ष बाह्र करोड पर्यटक आएका थिए । ३ वर्षका लागि होटेल बुकिङ फुल थिए । हरेक घर होमस्टे भएका थिए । शहर होस् वा गाउँ, डलरका मात्रै कुरा भइरहेका थिए ।

कति जम्मा गरिस् काँहिला ?

कसले गन्न भ्याउनु नि ! तीन बोरा डलर भयो आजसम्म ।

मेरो त सात बोरा ।

आ ! मलाइ त डलर राख्न झ्याउ लाग्न थाल्यो, पातभन्दा धेरै ।

देशमा डलर बैंक खुलेका थिए । गाउँगाउँ, टोलटोलमा विदेशी बैंकका शाखा थिए ।

कान्छीले भनी– डलर गन्ने फुर्सद नभएर दुई डोका बैंकमा बिसाएर आएँ । भरे भौचर आउँछ रे !

साइँलीले भनी– आ ! को जाओस बैंक ! मेरो त घरमै बैंक स्टाफ आएर पाँच बोरा डलर बोकेर गए ।

…

ए दाइ ! के को डलरका कुरा गरेको ? आजको पाँच घण्टा बेकार भयो । खोप सकियो रे ! भोलिका लागि आधारातमा लाइन लाग्न आउनुहोला । दिउँसै सपना देखेको म झसङ्ग भएँ ।