३० आश्विन २०८३, शुक्रबार

एमालेमा एकताका लागि दबाब: नेपाल पक्षप्रति ओली नरम

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक यु–टर्न भएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति लचिलो देखिएका छन्। तर यो यु–टर्न पनि ओलीको ‘जालझेल’ हुने सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन। ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरूको भनाइ छ।

पार्टीभित्रको विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएपछि बसेको केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टीको आन्तरिक विवाद मिलाउन दबाब दिएपछि अध्यक्ष ओली यु–टर्न भएका हुन्। बालुवाटारबाट निजी निवास सर्नेक्रममा नेपालबाहेक अरू नेतालाई पार्टीमा स्वागत गरिने तर नेपालका लागि कुनै स्थान नरहेको बताएका ओलीले अहिले आएर सबैलाई आममाफी दिने घोषणा गरेका छन्।

सर्वोच्च अदालतले असार २८ मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि उनले असार ३० मा नेपाललाई गद्दार घोषणा गर्दै पार्टीभित्र कुनै स्थान नभएको बताएका थिए। तर सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अधिकांश नेताले पार्टी एकता रहेमात्रै उपलब्धि जोगाउन र हासिल गर्न सकिने नत्र पार्टी नै गम्भीर संकटमा पर्ने भएकाले सबैलाई समेट्दै एकताको पक्षमा उभिन ओलीलाई दबाब दिएका थिए। सोमबारको बैठकबाट नेपाल पक्षका २३ जना सांसदलाई स्पष्टीकरण सोधेका ओली बिहीबार सबैलाई आममाफी दिने घोषणा गर्न बाध्य भए। ‘हामी को, कहाँ छौं, त्यो कुरा छाडिदिऊँ ,देश र जनताको कुरा गरौं, अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं, आउनुस् मिलेर काम गरौं,’ ओलीले बिहीबार राजधानीमा अयोजित एक कार्यक्रममा भने।

केन्द्रीय कमिटी बैठकमा सहभागी अधिकांशले पार्टी एकताकै पक्षमा मत राखेका कारण ओली नेपाल समूहप्रति यु–टर्न हुन बाध्य भएका हुन् । केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि सबै प्रयास अघि बढाउन ओलीलाई अधिकार दिएको छ। ‘हामी अझै पनि पार्टी एकता र कम्युनिस्ट आन्दोलन जोगाउन छलफलमा छौं । माधव पक्षसँग वार्ता जारी छ। अब केही दिनको छलफलले धेरै कुरा तय गर्छ । हामीले प्रवृत्तिसँग सम्झौता गर्ने होइन, व्यक्तिलाई रोग लाग्यो भने रोग निको बनाउने हो। हरेक नेतृत्वको प्रयास अन्तिमसम्म पनि कमजोरीबाट पार्टी जोगाउने हुन्छ। हामी त्यही प्रयासमै छौं, अध्यक्ष ओलीले अब एकताका लागि अन्तिम प्रयास गर्नुहुनेछ,’ एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने।

अहिले शीर्ष तहबीच संवाद गर्नेगरी विवाद निरूपणको प्रयास थालिएको छ। पार्टी नीतिविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता नेपालसहितका सांसदलाई स्पष्टीकरण सोधेपछि संवादको वातावरण बिग्रेको थियो। नेपाल पक्षीय स्थायी कमिटी बैठकमा सदस्यहरूले स्पष्टीकरण सोध्ने र नेताहरूलाई गाली गर्ने प्रवृत्तिले संवाद बिथोल्न सक्ने बताएका थिए।

ओली नेतृत्वको सरकारले जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि वरिष्ठ नेता नेपालसहित प्रतिनिधिसभाका २३ सदस्यले संधिानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। विवादकै बीचमा नेपाल पक्षले देउवालाई विश्वासको मत दिएपछि ओली समूहले वरिष्ठ नेता नेपालविरुद्ध नाराबाजी गर्दै आएको छ। केन्द्रीय कमिटी बैठकमा महेश बस्नेत, निरु पाललगायतले तुरुन्तै नेपाललाई पार्टीबाट निकाल्नुपर्ने बताएका थिए।

तर नेताहरू सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङलगायतले पार्टी एकता नभए अवस्था निकै कमजोर हुने मत राखेका थिए। त्यस्तै एमाले प्रदेश प्रमुखहरूले पनि पार्टी विभाजन गर्न नहुने सुझाव दिएका थिए। सबैतिरबाट एकताको पक्षमा सुझाव र दबाब आएपछि ओलीले नेपाल समूहप्रति नरम नीति लिएको स्रोतको दाबी छ। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।