
काठमाडौं, ७ साउन । गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको हो । मन्त्रालयका प्रवक्ता जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको जानकारी दिएका छन् ।
उनका अनुसार अब यस विषयमा जिल्लाका डीसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने छ । देशभर कोरोना संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्न भन्दै गत वैशाख १७ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाका कारण लामो तथा मध्य दूरीका सार्वजनिक सवारीसाधन चल्न सकेका थिएनन् ।
पछिल्लो केही सातादेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । रोकिएका विभिन्न तहका परीक्षाहरु समेत सञ्चालन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगले लिने परीक्षा सञ्चालन मिति सार्वजनिक भएकाले देशका विभिन्न क्षेत्रबाट आउने परीक्षार्थीलाई ध्यानमा राखेर सुरक्षा मापदण्ड पूरा गरेर लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया