२९ आश्विन २०८३, बिहिबार

अब नेकपा एमालेमा के हुन्छ ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– एसपी उप्रेती

नेकपा एमालेकाे विवाद झनै चुलिएको छ ।

आइतबार पार्टीका ३३ जना सांसदहरुले ह्वीप उल्लंघन गरे । जसमध्ये २२ जनाले त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए ।

जसमा अध्यक्ष केपी शर्मा ओलीका केही र अन्य माधव कुमार नेपाल पक्षका सांसदहरु रहेका छन् ।

यो इतिहासमै सबैभन्दा धेरैले फ्लोर क्रस गरेको दुर्लभ राजनीतिक परिघटना हो ।

पार्टीका एकताको निरन्तर पक्षमा रहेको नेपाल समूहका केही नेताहरु मतदान प्रक्रियामा सहभागी भएनन् भने पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदबाट राजीनामा दिए ।

उनीहरुले साँच्चै पार्टीलाई एक बनाउन यो कदम चालेका हुन् वा यो पनि हात्तीको देखाउने दाँत जस्तै पो हो कि भन्ने पनि तर्कहरु उठेका छन् ।

यद्यपि उनीहरुको यो पाइलाले एमाले एक हुनैपर्ने अवस्थालाई भने चित्रण गर्दछ । किनकी एमालेको अस्तित्व नरहेमा राजनीतिमा उचाइ बनाइसकेका तर बागडोर सम्हाल्न नपाएका दोस्रो पुस्ताका नेताहरुको भविष्य अन्योल हुनेछ ।

सीमित विकल्पमध्ये कि नयाँ पार्टी खोल्नुपर्ने वा कुनै पार्टीमा वा माओवादीमा एकता हुनुपर्ने देखिन्छ । जुन उनीहरुका लागि फाइदाजनक नहुन सक्छ ।

यता एमालेको भर्खरै बसेको स्थायी कमिटीको बैठकले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने निर्णय गरेको छ ।

यद्यपि ओली पक्षकै केही सांसदहरुले पार्टीको निर्णयविपरित उभिएका थिए । जसले गर्दा अब पार्टीको एकता झनै जटिल बन्दै गएको देखिन्छ ।

दुवै पक्षका पार्टीको एकता चाहने नेताहरुले भने कार्यदलले गरेका १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

जस्तै परिस्थिति आइ पेरपनि पार्टीलाई एक बनाएर लैजानु पर्नेमा नेपाल पक्षका गोकर्ण विष्ट, घनश्याम भुसाल, योगेश भट्टराई लगायत छन् ।

अरु पार्टीलाई कमजोर बनाएर राज गर्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेमा मिसिनु नै एमाले विभाजन गर्न थियो भन्ने आंकलन गरिएको छ ।

त्यस्तै, ओली पक्षका पनि विष्णु पौडेल, सुवास नेम्बाङ लगायत एकताकै पक्षमा रहेका छन् । एमालेमा अबको दिशा के हुन्छ भन्नेबारे अन्योल छ ।

कतिको विश्लेषण भने ओलीले नेतृत्वको रचनात्मक भूमिका निर्वाह गर्न नसकेको बताउँछन् । आफ्नै वरपरका मानिसहरुको गलत सल्लाहको आधारमा अघि बढ्नुले पार्टीलाई कमजोर बनाएको तर्क गर्छन् ।

अर्का थरिका विश्लेषणले भने अरु पार्टीलाई कमजोर बनाएर राज गर्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेमा मिसिनु नै एमाले विभाजन गर्न थियो भन्ने आंकलन गरिएको छ ।

घटना हेर्दा पनि यो विश्लेषणमा सत्यता भेटिन्छ । यता एमालेको कार्यदलले पार्टीलाई एक बनाउने भन्दै वार्ता गर्न थाल्थ्यो उता प्रचण्ड नेता नेपालसँग भेटवार्ता गर्न पुग्थे । कसरी हुन्छ यो एकता भाँड्न मै उनको सक्रियता थियो जस्तो देखिन्छ ।

फेरि अर्काे तरिकाले हेर्ने हो भने नेता नेपाल आफैँले पनि एकता नचाहेको प्रष्ट हुन्छ । उनी एक उचाइ बनाइसकेको पूर्वप्रधानमन्त्री समेत हुन् । त्यस अर्थ कसैले उचालेको भरमै उचालिने उनको व्यक्तित्व नहुनुपर्ने हो ।

त्यसैले, उनी आफैँ पनि एमालेमा रहने कुरामा इच्छुक नदेखिएको घटनाक्रमले प्रस्तुत गरेको छ । कार्यदलले निकै परिश्रम गरेर तयार पारेको सहमति नेपालले नमान्नु, अध्यक्षसँग संवाद गर्न तयार नहुनु, देउवालाई कुनै पनि हालतमा मत दिन्छु भन्ने अडान लगायतले उनी आफैँ पार्टीमा रहन नचाहेको देखिन्छ ।

आफ्नै सरकार गिराउन विपक्षीसँग मिलेर अडानका साथ अघि बढ्नु त झन् इतिहासमै लाजमर्दो पक्ष हो ।

जे भए पनि दुवै पक्षका अधिकांश नेताहरु भने अझै पनि पार्टीमा एकता हुनुपर्ने मत राख्छन् । तर हिजो मात्रै पार्टी महासचिव ईश्वर पोखरेलले नेपाल पक्षलाई इंगित गर्दै पार्टीभित्रका खलनायक चिन्नुपर्ने बताए । उनको आशय अब यसरी पार्टीको निर्णय विपरित जानेलाई माफ गर्नुहुन्न वा नाम मात्रैको एकता आवश्यक छैन भन्ने बुझिन्थ्यो ।

त्यस्तै, अन्य कतिपय नेताहरुको पनि त्यही किसिमको बुझाइ छ । नेपाल पक्षका रामकुमारी झाँक्री लगायत केही त पार्टी फुटाएरै भए पनि अघि बढ्नुपर्नेमा तयार देखि ओलीले नमान्ने किसिमका शर्त राखेर अलग्गै हुने दाउमा छन् ।

यता ओली पक्षका नेताहरुले पनि अब अति नै भएको भन्दै नेपाल पक्षका केही सांसदहरुलाई क्षमा गर्न नसकिने बताउँदै आएका छन् ।

अध्यक्ष ओलीले समेत पदमुक्त भएपछि बालुवाटारबाट बालकोट गएर उद्घोष गरेका थिए कि अब गद्दारहरुसँग सहकार्य हुन्न भनेर । यसरी हेर्दा अबका दिनहरु एमालेका दुवै पक्षलाई उति सहज छैन ।

तर जे जे भए पनि एउटा परिवारमा भएको झगडाको पनि संवादबाट एकतातिर उन्मुख हुँदै समाधान गर्नुपर्ने हुन्छ । राजनीति त देश हाँक्ने कडी हो ।

यस्तोमा फुटेर कसैको पनि हित हुने रहेनछ भन्ने सायद एमालेका नेताहरुलाई महसुस भएको हुनुपर्छ । अझै पनि छैन भने आउँदो चुनावले चाँहि पक्कै गराउनेछ ।

तसर्थ बेलैमा जुटेरै अघि बढ्न साझा हार्दिकतापूर्ण एकतातर्फ उन्मुख हुन आवश्यक छ । जसका लागि आआफ्नो तर्फबाट केही अहंकार, रिस र शत्रुतालाई फालेर नयाँ रेखा कोर्न आवश्यक देखिन्छ ।