
काठमाडौं, ३ साउन । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले विश्वासको मतको पक्षमा मतदान गर्ने बताएकी छिन् ।
संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेकाले उनकै पक्षमा मतदान गर्ने उनले बताएकी हुन् । संसदको पूरा कार्यकाल सञ्चालन गर्न सबैले विवेक प्रयोग गरी पक्षमा भोट हाल्नुपर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले लेखेकी छिन्, ‘हामीले ७६९५० को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ ।’
उनले अगाडि लेखेकी छिन्, ‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं ।’
यदि त्यस्तो नभएको खण्डमा यसअघि समर्थन गरेका एमालेका २३ जना सांसदले विश्वासको पक्षमा मतदान गर्नु कर्तव्य भएकोमा जोड दिँदै उनले लेखेकी छिन्, ‘यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं ।’















प्रतिक्रिया