८ कार्तिक २०८३, आइतबार

ऐतिहासिक महत्वका काम गरेको भन्दै एमालेले दियो सरकारलाई धन्यवाद

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । विभिन्न असहयोगका बावजुद पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न ऐतिहासिक महत्वका काम गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

आज शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले निवर्तमान सरकारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो । पार्टीभित्र तथा बाहिरबाट सिर्जित असहयोग, घेराबन्दी तथा षड्यन्त्रहरूबीच सरकारले ऐतिहासिक महत्वका कामहरू गरेको एमालेको ठहर छ ।

सोही कामका लागि पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरिएको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

ओली नेतृत्वको ४१ महिने सरकारले संविधानको कार्यान्वयन, सङ्घीयता सुदृढ गर्ने, सामाजिक न्यायको प्रवद्र्धन गर्ने, राष्ट्रियताको सम्बद्र्धन गर्ने, नेपालको बाह्य सम्बन्धलाई सशक्त र प्रभावकारी बनाउनेलगातय काम गरेको ज्ञवालीको भनाइ छ । त्यस्तै विभिन्न असहमत पक्षहरूलाई राष्ट्रिय अखण्डता, शान्तिपूर्ण मूलप्रवाह र संवैधानिक दायरामा ल्याएर राजनीतिक द्वन्द्वको अन्त्य एवं दीगो शान्तिको स्थापना गर्नु सरकारको ठूलो उपलब्धी भएको ज्ञवालीले बताए ।

त्यस्तै भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्ने, कोभिड महामारीको प्रभावकारी सामना गर्ने, मुलुकको सामाजिक–आर्थिक रूपान्तरण तथा विकास गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा उल्लेखनीय कामहरू ओली सरकारले गरेको एमालेको निष्कर्ष छ ।

‘प्रारम्भदेखि नै पार्टीभित्र तथा बाहिरबाट सिर्जित असहयोग, घेराबन्दी तथा षड्यन्त्रहरूलाई गरिएका यी कामहरू ऐतिहासिक महत्वका छन्,’ एमालेले भनेको छ, ‘यसका लागि पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्ने निर्णय भएको छ ।’

२०७४ साल फागुन ३ गते ओलीको नेतृत्वमा सरकार गठन भएको सरकार करिब ४१ महिनापछि सर्वोच्च अदालतको परमादेशबाट असार २९ गते स्वतः विघटन भएको थियो ।