
काठमाडौं, १ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले बैठकले पार्टीको आन्तरिक एकताका लागि कार्यदलले गरेको १०बुँदे सहमति अनुमोदन गरेको छ ।
आज शुक्रबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले उक्त सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
त्यस्तै बैठकले १० बुँदे सहमतिसँगै कार्यदलको औचित्य समाप्त भएको निष्कर्षसहित कार्यदल भङ्ग समेत गरेको छ । पार्टीको आन्तरिक एकता कायम गर्न सहजीकरण गर्ने उद्देश्यले गठित कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन)पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल संलग्न थिए ।
त्यस्तै वरिष्ठ नेता माधव कुमार नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त थिए ।
यसैबीच सोही बैठकले नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ । लोकतान्त्रिक र अश्वस्थ विधिबाट वर्तमान सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।















प्रतिक्रिया