
काठमाडौं, २८ असार । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको थप खोप उपलब्ध गराउने बताएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई थप खोप सहयोग गर्ने जानकारी दिएकी हुन् । आज सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजदूत यान्छीले नेपालले खरिद गरेको सबै खोप चाँडै आउने बताउँदै थप खोप समेत उपलब्ध गराउने बताएकी हुन् ।
उनले कोभिड महामारीका कारण नेपालबाट चीनतर्फ रोकिएको निर्यात कोभिड नियन्त्रण भएपछि मात्रै सुचारु हुने पनि स्पष्ट पारेकी छिन् । कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई मद्दत गरेको उल्लेख गर्दै राजदूत यान्छीले खोप उत्पादन दिन प्रतिदिन बढिरहेका कारण नेपाललाई चीनले भविष्यमा थप सहयोग गर्न सक्ने आश्वासन दिएकी हुन् ।
‘हामीसँग १० प्रकारका खोप उत्पादन भएका छन् र दुईवटालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ, उत्पादन पनि क्रमशः बढिरहेको छ,’ राजदूत यान्छीले भनिन्, ‘नेपालले खरिद गरेको ४० लाख डोज सिनोफार्ममध्ये सबै चाँडै नै आउने छ । हामी भविष्यमा नेपाललाई बढीभन्दा बढी खोप पठाउनेछौँ किनभने हामीकहाँ उत्पादन क्षमता बढिरहेको छ ।’
नेपाललाई चीन सरकारले १८ लाख सिनोनोफार्म कम्पनीको भेरोसेल खोप उपलब्ध गराइसकेको छ भने नेपालले खरिद गरेको ४० लाख डोज खोपमध्ये पहिलो चरणमा ८ लाख खोप आइसकेको छ ।















प्रतिक्रिया