७ कार्तिक २०८३, शनिबार

अमेरिकाबाट कोरोनाविरुद्धको १५ लाख डोज खोप नेपाल आइपुग्यो, एक मात्रा लगाए पुग्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १५ लाख डोज जोनसन एण्ड जोनसन खोप आज नेपाल आइपुगेको छ ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार हिजो आइतबार नेपालका लागि प्रस्थान गरेको थियो । खोप आज बिहान नेपाल आइपुगेको हो । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

नेपाल आइपुगेको सो परिमाणको खोप अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त खोप एक मात्रा लगाए पुग्छ ।

कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्याधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् ।