३० आश्विन २०८३, शुक्रबार

राजपा कब्जा गर्न होडबाजी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । ‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।

अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्ता भएको बताए। प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार हरिनारायण यादव अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन परेको थियो। त्यसको तेस्रो दिन आइतबार अजय झा अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन दर्ता भएको जानकारी उनले दिए।

‘हामीले पार्टी दर्ताका लागि निवेदन लिएका मात्र हाैं’, प्रवक्ता श्रेष्ठले भने, ‘निवेदन लिँदा पार्टीको नाम भिडाउने गरिँदैन।’ निवेदनमा छानबिन गरी विधिवत रूपमा पार्टी दर्ता गर्ने बेला भने नाम भिडाउने व्यवस्था कानुनमा रहेको उनले बताए। पार्टी दर्ताका लागि एउटै नाममा पनि फरकफरक व्यक्तिले निवेदन दिन सक्ने बताउँदै श्रेष्ठले भने, ‘दल दर्ताको प्रमाणपत्र दिँदा भने सबै प्रक्रिया पूरा गर्छौं।’ दुई पार्टी एकीकरण भएपछि एक एक वर्षसम्म पुरानो दलको नाम आयोगमा दर्ता गर्न नमिल्ने कानुनी व्यवस्था छ। त्यसैले राजपा, नेपाल एक वर्षसम्म कसैले दर्ता गरेनन्।

तत्कालीन राजपा, नेपाल र समाजवादीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएको एक वर्ष पुगेको छ। एक वर्ष पुग्नेबित्तिकै राजपा, नेपाल दर्ता गरी सो नाम कब्जा गर्न उपेन्द्र र ठाकुर पक्षको इसारामा निवेदन परेको हो। राजपा, नेपाल दर्ताका लागि निवेदन दिएका हरिनारायण जसपा अध्यक्ष उपेन्द पक्षसँग निकट रहेको स्रोतले बतायो। उनी यसअघि उपेन्द्रले नेतृत्व गरेको समाजवादी पार्टीमा आबद्ध थिए। त्यसो त, हरिनारायणले आफूले कसैको इसारामा नभई स्वविवेकले राजपा, नेपाल दर्ताका लागि निवेदन दिएको बताएका छन्। उनले पहिला आफूले राजपा, नेपाल दर्ताका लागि निवेदन दिएकाले दर्ता भएको प्रमाणपत्र आफूले पाउनुपर्ने दाबी गरे।

आयोगमा आइतबार राजपा, नेपाल दर्ताका लागि निवेदन दिएका झा जसपाका अर्का अध्यक्ष ठाकुर निकट मानिन्छन्। तर ठाकुर निकट नेताहरूले झासँग आफूहरूको कुनै सम्बन्ध नभएको बताउँछन्। जसपा आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेको छ। आयोगले उपेन्द्र वा ठाकुरमध्ये एक पक्षलाई आधिकारिक जसपाको मान्यता दिनेछ। जसपाको आधिकारिकता नपाएको अवस्थामा राजपा, नेपालका नाममा राजनीति गर्न दर्ताका लागि दुवै पक्षबाट आयोगमा निवेदन दिइएको बुझिएको छ।

ठाकुर पक्षका केही नेताले जसपा आधिकारिताका लागि लामो प्रक्रिायमा जानुभन्दा पुरानै राजपा नेपाल, दर्ता गर्न उपयुक्त हुने सल्लाह उनलाई दिएका छन्। तर ठाकुर पक्षले आयोगमा राजपा, नेपाल दर्ताका लागि निवेदन दिनुभन्दा पहिले नै उपेन्द्रपक्ष निकट हरिनारायणले निवेदन दर्ता गराए। चार वर्षअघि तराई÷मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राजपा, नेपाल गठन गरिएको थियो। सो दलले संविधानसभाबाट संविधान जारी भएपछि भएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको थियो। भुवन शर्माले नागरिक दैनिकमा समाचार लेखेका छन् ।