
काठमाडौं, २६ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्डबाट सधैं अराजकता र अस्थिरता सृजना गर्दै हिँड्ने काम भएको बताएका छन् ।
आफूले बनाएको संविधान, कानून र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भएको आरोप लगाउँदै रायमाझीले भने, ‘पहिला आफू अनुशासनमा बस्नुपर्यो अनि अरुलाई अनुशासनको कारबाही गर्नुपर्छ ।’ प्रचण्डलाई कुनै पनि अनुशासनले बाँध्न नसकिएकाले झन् झन् अराजक बन्दै गएको उनको भनाइ छ ।
‘माओवादीबाट जितेका जनप्रतिनिधिहरुलाई एकपछि अर्को ढंगले कारबाही चलाउँदै गइयो, यो गलत भयो । प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा, प्रदेश हुँदै स्थानीय तहसम्म जितेका जनप्रतिनिधिलाई कारबाहीको प्रक्रिया अघि बढाइयो । त्यसपछि हामीले प्रतिकार गर्यौं । मेयर÷उपमेयरहरुलाई अदालतले अहिले पूनर्वहाली गरेको छ । यसले माओवादी केन्द्र पार्टी नै अनुशासनमा नबसेको र कानून, विधि, प्रक्रिया, संविधान मिचेको पुष्टि भयो,’ उनले भने ।
उनले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति कडा आक्रोश पोखेका छन् । उनले भने, ‘३३ वर्षसम्म माओवादी पार्टीको महाधिवेशन भएको छैन् । आधिकारिक रुपमा प्रतिष्पर्धात्मक महाधिवेशन नभएको तितो इतिहास हामीसँग छ । स्वघोषित नेता भएर प्रचण्डले ईतिहास बनाएका छन् । कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो ।’
माओवादी केन्द्र भन्ने पार्टी अहिले अवैधानिक रहेको भन्दै उनले यसलाई खारेज गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बनधी ऐन केही पनि नमानेको उनको आरोप छ ।















प्रतिक्रिया