
मोरङ, २६ असार । मोरङमा आफ्नै भाइले दाजुको हत्या गरेका छन् ।
विराटनगर महानगरपालिका–५, पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवाद हुँदा ४२ वर्षीय भोला सिंहको हत्या गरेको प्रहरीले जनाएको छ ।
भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका हवल्दार हुन् । लागूऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।
साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएका भोलालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याएको थियो ।
अस्पताल पुर्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ गरेका बेला उनी मदिराको नशामा लठ्ठ थिए । दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो ।















प्रतिक्रिया