३० आश्विन २०८३, शुक्रबार

एमालेमा अझै कुरा मिलेन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओलीलाई विश्वास गर्न नसक्दा विवाद समाधानले गति लिन सकेको छैन। दुई दिनयता विवाद समाधानका दिशातर्फ बढेको भन्दै एमाले नेताहरू उत्साहित देखिए पनि प्रगति हुन नसक्दा बिहीबार बस्ने भनेको कार्यदलको बैठक बस्न सकेन।

२०७५ जेठ २ को पार्टी संरचनामा फर्कन ओलीले आनाकानी गरेकाले अन्य विषयमा विश्वास गर्न नसकिने भनाइ नेपालबाट आएपछि कार्यदलको बैठकसमेत प्रभावित भएको हो। बैठक बस्न साँझ सिंहदरबारमा कार्यदल सदस्य भेला भए पनि कुनै छलफल भएन।

ओली पक्षका विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार ११ बजे बैठक बस्ने भन्दै कार्यदलका अरू सदस्य बाहिरिएका थिए। पौडेलको अनुपस्थितिले कतै ओली फेरि जालझेलमा लागे कि भन्ने शंका उत्पन्न भएको नेपाल समूहका एक नेताले बताए। ओलीको ध्यान सर्वोच्च अदालतमा परेको रिटमा गरिएको हस्ताक्षर फिर्ता गराउनेतर्फ केन्द्रित हुँदा समस्या उत्पन्न भएको उनको बुझाइ छ।

बिहीबार साँझ नेताहरू निकै उत्साहका साथ कार्यदलको बैठकमा भाग लिन सिंहदरबार पुगेका थिए। ओली पक्षका सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमालका साथै नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी हुन पुगेका थिए।

एकै छिनमा कार्यदलको बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित भएको बताएर नेम्बाङ बैठकस्थलबाट निस्केका थिए। बैठकस्थलबाट बाहिरिने क्रममा नेपाल पक्षका नेता भुसालले १० दिनअघि तय गरेका अजेन्डामै विवाद अड्किएको बताए। यसले विवाद मिल्ने दिशातर्फ भनी मंगलबार र बुधबार गरिएको दाबीको समेत खण्डन गरेको छ। नागरिक दैनिकले खबर छापेको छ ।